पहाड र पश्चिम तराईमा धेरै रोपाइँ, पूर्वी तराईमा खडेरी

मध्यबर्खामा पनि पूर्वी तराईमा पानी परेको छैन। त्यसैकारण धान रोपाइँ हुन सकेको छैन। सिँचाइको अभाव र आकाशे पानीको भर पर्नुपर्ने स्थिति छ। साउन पहिलो साता लाग्दा पनि २७.८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ गर्नै बाँकी छ।

मुलुकभर खेती भैरहेको जमिन २५ लाख २५ हजार हेक्टर छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले प्रदेशहरूसँगको समन्वयमा तयार गरेको तथ्यांकअनुसार यसवर्ष १३ लाख ८३ हजार ७३२ हेक्टर क्षेत्रफल जमिनमा वर्षे धान लगाउन योग्य छ। साउन ४ गतेसम्म ९ लाख ९८ हजार २२८ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको केन्द्रले जनाएको छ। अर्थात्, ३ लाख ८५ हजार ५०४ हेक्टर क्षेत्रफलमा अझै धान लगाउन बाँकी छ। कुल क्षेत्रफलको ७२.१४ प्रतिशत मात्रै वर्षे धान रोपाइँ भएको छ। जबकी गत वर्ष (२०८१ साउन ६ गते) सम्म ८४.६ प्रतिशत रोपाइँ भइसकेको थियो।

यसवर्ष सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ। गत वर्ष साउन पहिलो साता मधेसमा ८०.६ प्रतिशत रोपाइँ भइसकेको थियो। तर, यसपटक साउन ४ गतेसम्म ४६.८३ प्रतिशत मात्रै रोपाइँ भएको छ। मधेस प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल ३ लाख ७२ हजार ६४५ हेक्टर छ। यसमध्ये १ लाख ७४ हजार ५०८ हेक्टरमा मात्रै रोपाइँ  भएको छ।

समयमा पानी नपरेकाले रोपाइँका लागिमात्रै होइन पिउने पानीकै हाहाकार भएको छ। पानी नपरेपछि किसानहरू इन्द्रदेवसँग पानी (वर्षा गरिदिन) बिन्ति बिसाइरहेका छन्। सिँचाइको सुविधा नभएको र खेतमा लगाएको बीउ पनि रोप्न नपाएर छिप्पिन लाग्दा किसानहरू चिन्तित छन्।  हुनतः यसवर्ष मनसुन छिटो सुरु भए पनि प्रक्षेपण गरेजति पानी अझै नपरेकाले किसानलाई रोपाइँमा समस्या परेको बताउँछन्, बाली विज्ञ डा. टीका कार्की।

यस वर्ष अझै मनसुन कायम भएकाले प्रक्षेपणअनुसार कतिबेला पानी वर्षिन्छ भन्ने एकिन नभएको उनको भनाइ छ। उनकाअनुसार समय ढिप्केको धानको बेर्ना रोप्दा उत्पादनमा कमी आउँछ। उनी भन्छन्, ‘पहाडमा पनि यतिबेला अधिकांश नदी किनारका फाँटहरूमा पनि पानी नपर्दा मूल फुटेनन्।
त्यसैकारण धान रोपाइँमा समस्या परेको छ। जसले गर्दा समयमा रोपाइँ गर्न नपाउँदा धानका बेर्ना छिप्पिन थालेका छन्। ३० दिनको धानको बेर्ना रोप्नुपर्नेमा ४० दिन भइसकेकाले किसानहरू आत्तिएको अवस्था छ।

तराई तिरका किसानहरूले पनि मौसमलाई आँकलन गरेर बिउ राख्ने गर्छन्।’ यस हिसाबले रोप्ने हुँदा यतिबेला तराईका बेर्ना पनि छिप्पिन पुगेका छन्  तर पनि तराईमा अझै पानी परिदियो भने साउन महिनाभरि रोपाइँ गर्ने सम्भावना छ।  नेपाल कृषि अनुसन्धान परिषद्का पूर्वप्रमुख बाली विज्ञ डा.कार्की वर्षे धान एउटै प्रजातिको भएकाले असार पहिलो साता रोप्दा र साउन पहिलो साता रोप्दा पाक्ने समय भने एउटै हुने बताउँछन्।  ‘यसैले ढिला रोपाइँ गर्दा धान पाक्नेमा समस्या हुँदैन तर समय ढिप्केको बिउ रोप्दा उत्पादनमा ह्रास आउँछ। साथै रोपाइँ ढिला हुँदा पराल छोटो हुने र उत्पादन कम हुने जस्ता असर पार्छ,’ उनले अन्नपूर्णसँग भने।

यता कोशी प्रदेशमा पनि गत वर्षको भन्दा कम रोपाइँ भएको छ। केन्द्रको तथ्यांकअनुसार अहिलेसम्म ६१.७९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। जबकी गत वर्षको साउन पहिलो साता सो प्रदेशको धान ८२.७ प्रतिशत रोपाइँ भइसकेको थियो। कोशी प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर छ। यसमध्ये १ लाख ७० हजार ७९० हेक्टरमा मात्रै धान रोपाइँ भएको छ। यसपटक मधेस  र कोशी प्रदेशमा पानी कम परेको हुनाले रोपाइँ प्रतिशत पनि कम हुन गएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ।

यद्यपि केन्द्रको तथ्यांकअनुसार प्रदेशअनुसार हालसम्म सबैभन्दा बढी सुदूरपश्चिममा रोपाइँ भएको छ। उक्त प्रदेशमा ९६.९९ प्रतिशत रोपाइँ भइसकेको छ। गत वर्ष सोही अवधिमा सुदूरपश्चिमको सोभन्दा कम अर्थात् ९६.३ प्रतिशत रोपाइँ भएको थियो। उक्त प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल १ लाख ७६ हजार १५१ हेक्टर छ। यसमध्ये १ लाख ७० हजार ८४३ हेक्टरमा रोपाइँ भइसकेको छ।

यसपछि बढी रोपाइँ कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा भएको छ। कर्णाली र लुम्बिनी प्रदेशमा ८७.९३/८७.९३ प्रतिशत भएको छ। कर्णाली प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल ४० हजार ८८४ हेक्टर छ। यसमध्ये ३५ हजार ९४८ हेक्टरमा रोपाइँ भइसकेको छ। यसपछि लुम्बिनी प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल ३ लाख २ हजार ९३९ हेक्टर छ। यसमध्ये २ लाख ६६ हजार ३६९ हेक्टरमा रोपाइँ भइसकेको छ। यससँगै हालसम्म बागमती प्रदेशमा कुल धान हुने क्षेत्रफल १ लाख २० हजार ५४५ हेक्टर जमिनमा ८७.१९ प्रतिशत रोपाइँ भइसकेको छ। यसअनुरूप अझै १ लाख ५ हजार १०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ।

यससँगै गण्डकी प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल ९४ हजार १८२ हेक्टरमध्ये ७९.२८ प्रतिशतमा रोपाइँ भएको छ। यसअनुरूप ७४ हजार ६६४ हेक्टरमा रोपाइँ भइसकेको छ। गत वर्षको सोही अवधिमा भने कुल क्षेत्रफको ८४.३ प्रतिशत रोपाइँ भइसकेको थियो।

स्वदेशमै उत्साहजनक धान उत्पादन भए पनि भारतबाट बर्सेनि अर्बौं रुपैयाँको  आयात हुने गरेको छ। जबकी मुलुकभर समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै अर्थात् करिब ३०.२ प्रतिशत छ। तर, धान बालीको उत्पादनको प्रवृत्ति भने विगत १० वर्षको तथ्यांक विश्लेषण गर्दा समग्रमा उत्पादकत्वमा सामान्य वृद्धि भएको देखिन्छ।

आर्थिक वर्ष २०७७/७८ मा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीबाट ५६ लाख २२ हजार मेट्रिक टन मात्रै धान उत्पादन भयो। सो वर्ष धान बालीको उत्पादकत्व ३.८ प्रतिशतमा सीमित रहयो। यसअवधिमा कुल १४ लाख ७७ हेक्टरमा धार रोपाइँ हुँदा ५१ लाख ३० हजार मेट्रिक टन मात्रै उत्पादन भयो। सो आवमा उत्पादकत्व ३.५ प्रतिशतमा सीमित रह्यो। बरु आव २०७९/८० को पुससम्मको तथ्यांकअनुसार १४ लाख ४७ हजार हेक्टरमा लगाएको धानको उत्पादन ५४ लाख ८६ हजार मेट्रिक टन उत्पादन भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः