पटना पारस अस्पतालमा अपराधी चन्दन मिश्रमाथि गोली प्रहार, उपचारका क्रममा मृत्यु

भारतको बिहार राज्यको राजधानी पटना स्थित पारस अस्पतालमा उपचाररत कुख्यात अपराधी चन्दन मिश्र (उर्फ चन्दन सिंह)माथि भएको गोली प्रहारको घटना सम्बन्धी सिसिटिभी फुटेज बिहीबार सार्वजनिक भएको छ।

फुटेजमा देखिए अनुसार पाँच जना सशस्त्र युवकहरू अस्पतालको कोरिडोर हुँदै आत्मविश्वासका साथ हिँड्दै कोठा नम्बर २०९ प्रवेश गरेका थिए । उनीहरूले आफ्ना सर्टभित्र लुकाएका पेस्तोल झिकेर गोली प्रहार गरेका थिए । चन्दन मिश्र मेडिकल परोलमा रहेर उपचार गराइरहेका थिए ।

फुटेजमा चार जना तीब्र गतिमा कोठाबाट बाहिर निस्कँदै गरेको देखिन्छ भने एक जना केही ढिलो बाहिर निस्किएर अन्य मानिसहरूलाई गम्भीर दृष्टिले हेर्दै जान्छ । फुटेजमा को कति गोली चलायो भन्ने स्पष्ट देखिए पनि, आक्रमणपछि गम्भीर घाइते भएका चन्दन मिश्रको उपचारकै क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटनापछि बिहीबार एक जना अभियुक्तलाई पक्राउ गरिएको र अन्य चारजनाको पहिचान भइसकेको जनाइएको छ। यद्यपि, औपचारिक रूपमा प्रहरीले पक्राउको पुष्टि गरेको छैन। पटना केन्द्रीय क्षेत्रका प्रहरी महानिरीक्षक जितेन्द्र राणाका अनुसार, उक्त घटनामा प्रहरी सुरक्षाकर्मीहरूकै संलग्नता रहेको आशंकालाई नकार्न नसकिने बताएका छन् र त्यही दृष्टिकोणबाट समेत अनुसन्धान अगाडि बढाइने जनाइएको छ।

चन्दन मिश्र विगतका एक कुख्यात ग्याङस्टर थिए । सन् २०१४ मा कोलकाताबाट पक्राउ परेका उनीमाथि हत्या, बैंक डकैती, अपहरण लगायत २० भन्दा बढी आपराधिक मुद्दा दर्ता थिए । सन् २०११ मा व्यापारी राजेन्द्र केशरीको हत्या अभियोगमा उनलाई मृत्युदण्ड सुनाइएको थियो, जसलाई सन् २०२० मा पटना उच्च अदालतले घटाएर आजीवन कारावासमा रूपान्तरण गरेको थियो।

हाल उनी बक्सरका बासिन्दा थिए र १५ दिने मेडिकल परोलमा जेलबाट छुटेका थिए। परोलको अवधि आगामी जुलाई १८ मा समाप्त हुने तय भएको थियो।

यस घटनाले बिहारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। अस्पतालजस्तो सुरक्षित मानिने स्थानमा यस्तो प्रकारको आपराधिक गतिविधि हुनुले प्रशासनलाई थप चनाखो हुनुपर्ने सन्देश दिएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः