
धनुषा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक सागर शम्सेर ज.ब.रा.लाई २०८२ साल असार महिनाको ‘पुलिसअफ द मन्थ’ घोषणा गरिएको छ। सूचना संकलन शाखामा कार्यरत रहँदै उनले गरेका उल्लेखनीय कार्यहरूको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालयले उनलाई उक्त सम्मान प्रदान गरेको हो।
उनले २०८१ मंसिर १७ गते लक्ष्मिनिया गाउँपालिका–५, बनिनियाँस्थित हरिराम यादवको घरमा घटेको जघन्य हत्याको रहस्य उद्गाटन गर्न सफल भएका थिए। यादवले आफ्नी श्रीमती अञ्जली यादवलाई कुटपिट गरी हत्या गरी घरको पूजाकोठामा करिब २ फिट मुनि गाडेको अवस्थामा शव फेला परेको थियो। अनुसन्धानपछि आरोपीलाई जनकनन्दिनी गाउँपालिका–४ स्थित खजुरी रेलवे स्टेशनबाट पक्राउ गरिएको थियो।
त्यसैगरी, २०८२ असार १८ गते जनकपुर उपमहानगरपालिका–१५ का ६५ वर्षीय बासुदेव साहमाथि पारिवारिक रिसीवीका कारण चक्कु प्रहार गरी हत्या भएको घटनामा अनुसन्धान गर्दै आरोपी बेचन महासेठलाई असार २४ गते खजुरी रेलवे स्टेशनबाट पक्राउ गर्न सफल भए।
यसका साथै, ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र विद्युतीय अपराधमा फरार रहेका धनुषा औरही गाउँपालिका–५ का हनिफ नदाफलाई पनि खोजतलास गरी असार १३ गते पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको छ।
प्रहरी स.ना.नि. सागर शम्सेरले पाएको जिम्मेवारीलाई उच्च व्यावसायिक कुशलताका साथ निर्वाह गर्दै प्रहरी संगठनको छविलाई बलियो बनाउने कार्यमा उल्लेखनीय योगदान पुर्याएका कारण उनलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
प्रहरी उपरीक्षक महेश रेग्मीद्वारा हस्ताक्षरित प्रमाणपत्रमार्फत उनलाई औपचारिक रूपमा सम्मानित गरिएको हो।





