कपडा बैंक: सिंहदरबारलाई परोपकारको पाठ पढाउँदै

एउटा परोपकारी अवधारणाको सुरुवात:

एउटा परोपकारी दृश्य अनामनगरलाई आँखैअघि टड्कारो रूपमा ब्युँझाईरहन्छ, अचेल | कति सुन्दर दृश्य ! कसैले कपडा दिँदैगरेको, कसैले लिँदैगरेको, सँगसँगै |

अनामनगरमा कपडा बैंक खुलेको खबरलाई मिडियाहरूले छ्यापाछ्याप्ती बनाएको एउटा साता नाघिसकेको थियो | परोपकारको त्यो कार्यलाई मिडियाको भीडले सम्प्रेसण गर्न भ्याएको भए तापनि हामी (एभरेष्ट टक) त्यसलाई नियाल्न पुगिसकेका थिएनौँ |

सिंहदरबारको पूर्वी गेटलाई स-प्रमाण उभ्याएर शिरमा टिनको छानो ओडेको टहरो आकारको सानो सिंहदरबार अनेक किसिमका कपडा बोकेर उभिएको देख्छु | लाग्छ, ठूलो सिंहदरबारलाई परोपकारको पाठ सिकाउन एउटा सानो परोपकारी सिंहदरबार छेवैमा जन्मिएको छ |

बिहानको करिब ९ बजे, म त्यहाँ पुग्दा सिंहदरबारको पर्खाललाई परिक्रमा गर्दै आफ्नो जागिरस्थल जानेको संख्या बढ्नेक्रममा थियो | मोटरसाइकल र स्कुटरमा जागिरे पोशाकमा देखिएका एक जोर अनुहार टक्क रोकिए, सटक्क परेका पोकाहरू राखे र फेरि वाहनमा चड्न खोजे | नजिकैको सटर अघिल्तिर चिया पिउँदै गरेका एक दाजैले नाम टिपाउनु पर्ने व्यहोरा जानकारी गराए | उनीहरू पुन: आए र नाम टिपाए | उनीहरूले नाम टिपाउँदै गर्दा नै दुई जना अधवैंशे पुरुषहरू र एकजना हजुरबा उमेरका वृद्ध ती कपडाहरूमध्ये आफूलाई सहज हुने र राम्रो लाग्ने कपडा छान्दै थिए | त्यतिकैमा, लगालग मोटरसाइकलमा कपडा ल्याउँदै, छाड्दै अनि नाम टिपाउँदै गर्नेको क्रम झनझन बढ्दै गयो | प्रयोग भैसकेका तर अझै प्रयोग गर्न मिल्ने, कसैले नलगाएर यसै थन्किएका | कपडाहरू खास्सै पुराना, मैला एवं लाउन नमिल्ने देखिदैनथे |

अभियन्ताको धारणा:

कपडा बैंकको अवधारणालाई बुलन्द बनाउनेमध्येका एक अभियन्ता वीरबहादुर बिष्ट सो ठाउँ केही साँघुरो भएको बताउँछन् | समयक्रममा त्यो स्थानबाट अर्कै फराकिलो स्थानमा सार्नुपर्ने उनको राय रहेको छ | अझ उनी यस्ता किसिमका काम सरकारी निकायबाट पहिले नै हुनुपर्ने कुरामा जोड दिन्छन् | उनले भनेझैँ यदि सरकारी निकायले पहल गर्ने हो भने सामाजिक कार्यलाई अझ बुलन्द रूपमा उठाउन सकिन्छ |

यो कार्यलाई निरन्तरता दिनसमेत केही चुनौती उठाउनुपर्ने बाध्यता रहेको उनै अभियन्ताले पनि बताएकै हुन् | पानी र झरी पर्दा बाहिरका कपडाहरू तत्कालै उठाउनुपर्ने र भित्र ओबानो ठाउँमा लानुपर्ने जिम्मेवारी उनै बिष्टलाई रहेको त्यहाँको माहोलले पनि सोझै बताउँथ्यो |

मैले त्यस्ता पुराना एवं सफा कपडाको पहुँच एकै व्यक्तिलाई दोहोरिरहँदैन भन्ने प्रश्न सोधिरहँदा उनले ती कपडाहरू काठमाडौंमा मात्रै नभएर प्रकोप एवं अभाव भएको ठाउँमा समेत युवाहरूको सक्रियतामा आवश्यकता अनुरूप पुर्याइरहेको र आउँदा दिनहरूमा पुर्याइरहेने बताइरहेको कुरा विल्कुलै समयसान्दर्भिक थियो |

पुराना कपडाको स्टक बढेसँगै वृद्धाश्रममा लगेर ती कपडाहरू राखिने र आवश्यकता बमोजिम त्यसको प्रयोग गरिने अभियानको संचालक ‘१०० एस्’ ग्रुपले नै पनि बताउँदै आएको कुरा हो | यसर्थ धेरै भएका कपडाहरूलाई कसरी चाँजोपाँजो मिलाउने भन्नेबारे ग्रुपसमेत अझ बढी सचेत रहेनुपर्ने निश्चित छ |

उता जावलाखेलमा संचालित कपडा बैंकमा पनि माहोल उस्तै नै थियो | अझ खुला ठाउँमा जुत्ता र अन्य कपडाहरू सहजै देखिनेगरि राखिएको हुनाले केही फराकिलो महसुस हुन्थ्यो |

‘१०० एस्’ नामक ग्रुपको सपोर्ट एवं वीरबहादुरजस्ता सामाजिक अभियान्ताहरूको अवधारणामा सुरु भएको कपडा बैंकको फैलावट काठमाडौं हुँदै ललितपुर, चितवन, दाङलगायतका अन्य जिल्लाहरूमा पनि फैलिसकेको छ | अन्य संस्था एवं समूहहरूको पहलमा कपडा बैंक देशैभरि फैलिँदै छ | यो अवधारणा आफैंमा सुन्दर एवं परोपकारी संस्कारको जरो बलियो बनाउने अवधारणा हो | सकेको सहयोग दिनु र आवश्यक सहयोग लिनु नै धर्म हो भन्ने पनि गरिन्छ | अत: यो धर्मको प्रतिरक्षा गरिरहनु हरेक सामाजिक, वैयक्तिक एवं अन्य पक्षहरूको दायित्व पनि हो |

परोपकारलाई दीर्घकालीन बनाउन के गर्ने ?

सुन्दर लाग्ने परिवर्तन र परोपकारका अभियानहरूको चर्चा हुनु कुनै नौलो कुरा होइन | बाग्मती सफाई अभियान , हरेक सनिबार गरिने टोल एवं सहर सफाई अभियानलगायतका ठूला अभियानजस्तै यो पनि परोपकार र असल संस्कारको सुन्दर पक्ष हो |

तर, जसरी सुरुवातमा कुनै पनि अभियानले चर्चा पाउँछन्, त्यसको सुरुवात अनुसारको कार्यले लामो समयसम्म निरन्तरता पाउँदैनन् | अहिलकै अनुपातमा के यो अभियानको निरन्तरता लामो समयसम्म चलिरहन सक्ला त ? के यस्ता अभियानलाई दीर्घकालसम्म हामी आम मानिसले साथ दिइरहन सकौँला त ? अझ यसलाई व्यवहारिक र अभावग्रस्त समाजको पहुँचमा पुर्याउन सकौंला त ? आदि प्रश्नहरू आफैँलाई सोध्नुपर्ने आजको आवश्यकता छ |

हामीसँग समाजमा व्याप्त समस्याहरूको अन्य जडहरू पहिचान गर्दै तिनलाई समाधान उन्मुख गराउनु पर्ने सकारात्मक चुनौतीहरू पनि छन् | त्यससँगै विविध  रूपमा यसरी नै सुरु भएका कार्यहरूका पनि समयक्रममा आफ्नै समस्याहरू विकराल रूपमा नआउलान् भन्न सकिन्न | उदाहरणका लागि माथि चर्चा गरिएको कपडा बैंकको कार्य अहिलेको जस्तै निरन्तर रूपमा संचालन नहुने यदि हो भने त्यसले फेरि पनि कपडा बैंकलाई सहरका नचाहिने कपडा डिपोजिट गर्ने डम्पिङ साइडको उपमा नदेला भन्न सकिन्न |

अब त्यसको समाधानका लागि गर्ने के त ?

उपायहरू धेरै छन् | सामाजिक संजाल, समाजका एक-दुईजना अभियन्ता एवं केही अन्य सहयोगी हातहरूले मात्र परोपकारको जग उठाउन त्यत्ति सहज छैन | परोपकारको हातेमालोमा जब सामाजिक पाटोसँगै आर्थिक पाटो गाँसिन पुग्छ, त्यसको व्यवस्थापनमा अझ चुनौती थपिँदै जान्छ | यसर्थ: परोपकारको अभियानलाई अभियन्ता र सामाजिक संस्थासँगै अन्य सरोकारवाला, सरकारी संयन्त्र, समाज कल्याणमा जुट्ने परिषदहरू एवं अन्य नागरिक समाजले ठोस कदम चाल्न ढिला नगर्ने समय आएको छ |

परोपकारका अन्य कामजस्तै यस कार्यको थालनी र कार्यले दिर्घकालसम्म चर्चा पाइरहनु जरुरी छ | तसर्थ: सम्पूर्ण नगरबासी, आम नागरिक एवं सरकारी निकायको साथ र सहयोगले योलगायतका अन्य परोपकारका  भावी योजनालाई मूर्तरूप दिन सबैले आजैबाट आफ्ना- आफ्नो हैसियतअनुसारको सहयोग बढाउँदै जानु आवश्यक छ |

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः