
प्रा.डा. गणेश गुरुङ, वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ
ऐय्या, ढाड दुख्यो ! भन्दै जँचाउन आउनेहरू बढ्दै छन्। उमेर बढ्दै जाँदा अधिकांश व्यक्तिमा ढाड दुख्ने समस्याले सताउँछ। कसैलाई मेरुदण्डको मांसपेशी कमजोर भएर ढाड दुखाइको समस्या देखिन्छ। कसैको ढाडको नसा च्यापिएर पनि ढाड दुखाइले पिरोल्छ। ८० प्रतिशतभन्दा बढी व्यक्तिलाई कुनै न कुनै उमेरमा ढाड दुख्ने समस्याले सताउने गर्छ। ढाड दुखाइले दिनचर्या नै असहज बनाइदिन्छ।
एउटै पोजिसनमा घन्टौंसम्म काम गर्ने पेसाकर्मीहरूमा ढाड दुखाइको समस्या छिट्टै देखिने गर्छ। अधिकांशमा पोस्चर नमिलेर ढाड दुख्ने गरेको पाइन्छ। सवारीसाधनका चालकहरू, उभिएर पढाउने शिक्षकहरूलाई ढाड दुखाइको समस्या देखिन सक्छ। घोप्टिएर अध्ययन गर्ने विद्यार्थीमा पनि ढाड दुखाइको समस्या देखिन सक्छ।
सामान्यतयाः ढाड दुख्यो (ब्याक पेन) भयो भन्दै आउनेहरू तीन किसिमका हुन्छन्। एक्युट (एक्कासि सिर्जित दुखाइ) भएको ढाडको दुखाइ।
दोस्रो, सिभियर (जटिल खालको दुखाइ) र तेस्रो क्रोनिक (लामो समयदेखि समस्या बेला बखत बल्झिरहने) खालको ढाडको दुखाइ। उमेरअनुसार पनि ढाडको दुखाइको प्रकृति फरक फरक हुने गर्छ।
एक्कासि हुने ढाडको दुखाइ
एक्कासि ढाड दुखाइ (एक्युट)समस्या युवायुवतीहरूमा बढी देखिन्छ। मांशपेसीमा ऐठन (मसल्स स्पाज्म) को कारणले अधबैंसेहरूमा एक्कासि ढाड दुख्न सक्छ। बसाइको पोजिसन नमिल्दा पनि कतिपयलाई ढाड दुखाइको समस्या निम्तिन सक्छ।
जटिल खालको दुखाइ
ढाडको वरिपरि वा नजिकको कुनै स्थानमा ट्युमर छ भने जटिल खालको ढाडको दुखाइ हुन सक्छ। बोन म्यारो ट्युमर देखिएको अवस्था पनि ढाड दुखाइ हुन सक्छ। नसा च्यापिएर पनि जटिल खालको ढाड दुखाइ हुन सक्छ।
लामो समयदेखिको ढाड दुखाइ
उमेर ढल्किँदै जाँदा ढाडको हड्डी पनि खिइन पुग्छ। ढाड खिइएका कारण पनि ज्येष्ठ नागरिकहरूले बाँचुञ्जेल ढाड दुखाइ (क्रोनिक) सहनु पर्छ।
डिस्क प्रोल्याप्स (हर्निएटेड डिस्क) मा समस्या देखियो भने पनि ढाड दुख्छ। जुन दीर्घकालीन हुन सक्छ। त्यस्तै नसाको समस्याका कारण पनि ढाड दुख्ने हुन हुन्छ।
समयमै परीक्षण गरौं
ढाड दुखाइको समस्या छ भने हाड तथा नसा रोग विशेषज्ञसँग जँचाउनु उपयुक्त हुन्छ। सम्बन्धित विज्ञ चिकित्सकले आवश्यक जाँच गरेर ढाड दुख्नुको मुख्य समस्या पत्ता लगाउँछन्। यसका लागि एक्सरे, सिटीस्क्यान, एमआरआई पनि गर्नुपर्ने हुन सक्छ।
यसबाहेक बिरामीको अवस्थाअनुसार पेट स्क्यान, बोन स्क्यान पनि गर्नुपर्ने हुन सक्छ। यी सबै परीक्षण बिरामीको शारीरिक अवस्था हेरेर निक्र्योल गरिन्छ। ट्युमर छ भने इलेक्ट्रोफोरेसिस गर्नुपर्ने हुन सक्छ।
के गर्ने ?
ढाड दुखाइको उपचार गर्नुभन्दा दुख्नै नदिने उपाय अपनाउनु सबैभन्दा राम्रो हो। यसका लागि हरेकले आफ्नो मांसपेशीलाई बलियो बनाउनु पर्छ। यसका लागि नियमित व्यायाम गर्नुपर्छ। यसका लागि ढाडको व्यायाम गर्न सकिन्छ। भुइँ वा कुर्सीमा बस्दा ढाडलाई अप्ठेरो नहुने गरी पोजिसन मिलाएर बस्नुपर्छ। धेरै घोप्टो गरेर बस्ने वा टाउकोलाई एकदमै ठाडो पारेर बस्नु हुँदैन। मांसपेशीलाई बलियो बनाउन हिँड्डुल गर्ने, दौडिनेलगायतका कार्यहरू गर्नुपर्छ।
मांसपेशीको व्यायामका साथै खानपिनमा पनि ध्यान दिनुपर्छ। भिटामिन डी, क्याल्सियमको कमीले ढाड दुख्ने समस्या देखिएको हुन सक्छ। त्यस्तै कसैलाई बाथ रोगका कारण पनि ढाड दुख्छ।
दुखाइको प्रकृतिअनुसार फिजियोथेरापी पनि गर्न सकिन्छ। के गर्दा ढाड दुखाइको समस्या न्यूनीकरण हुने वा समाधान हुन्छन् भन्नेमा सम्बन्धित विज्ञबाटै परामर्श लिन सकिन्छ।




