१८ कात्तिक,वीरगञ्ज । पर्साको बाल सुधारगृहमा पुर्याइएको एक किशोरको दाहिने हातको कान्छी औँला काटिएको छ । बाराको चावालसतीनजिक अटो रिक्सा दुर्घटनासम्बन्धी मुद्दामा अदालतको आदेशपछि बाल सुधारगृह लगिएका वीरगन्ज महानगरपालिका–२१ का १६ वर्षीय अभिषेक महतोको औँला काटिएको हो ।
घटनाअनुसार गत असोज २६ गते अभिषेकले चलाएको अटो रिक्सा दुर्घटनामा परेको थियो । दुर्घटनामा अटोमा सवार सुरेन्द्र यादव र रामअसरे महतो घाइते भएका थिए । घाइते सुरेन्द्रसँग उपचार खर्चको विषयमा मिलापत्र भए पनि अर्का घाइते रामअसरेले अंगभंगसम्बन्धी मुद्दा दर्ता गराएका थिए ।
उक्त मुद्दामा अदालतको आदेशपछि गत कात्तिक १६ गते साँझ करिब ७ बजे अभिषेकलाई पुर्पक्षका लागि पर्सास्थित बाल सुधारगृहमा लगिएको थियो ।
परिवारका अनुसार राति करिब ९ बजे बाल सुधारगृहबाट अभिषेकका बुवा मुक्ति महतोलाई फोन गरी जन्मदर्ता प्रमाणपत्र पठाउन भनिएको थियो । त्यसपछि उनले ह्वाट्सएपमार्फत जन्मदर्ता प्रमाणपत्र पठाएका थिए ।
तर, राति करिब १० बजे अभिषेकको दाहिने हातको कान्छी औँला काटिएको अवस्थामा रहेको जानकारी परिवारले पाएको थियो । बाल सुधारगृह प्रशासनबाट कुनै जानकारी नआएपछि वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचाररत बिरामीमार्फत परिवारले घटनाबारे थाहा पाएको मुक्ति महतोले बताएका छन् ।
छोराको अवस्थाबारे जानकारी पाएपछि अस्पताल पुगेका मुक्ति महतोले त्यहाँ रहेका प्रहरीबाट आफूले धाकधम्कीसमेत खेप्नुपरेको आरोप लगाएका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी चक्र बहादुर मल्लले ढोका बन्द गर्ने क्रममा अभिषेकको हातको औँला काटिएको बताएका छन् । पर्साको बाल सुधारगृहका प्रशासन प्रमुखले पनि ढोका बन्द गर्ने क्रममा नै घटना भएको बताएका छन् ।
घटनाको वास्तविक अवस्था, औँला काटिनुको कारण र बाल सुधारगृहको जिम्मेवारीबारे थप अनुसन्धान तथा सम्बन्धित पक्षको प्रतिक्रिया आवश्यक देखिन्छ ।






