मोतिहारी । भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको मोतिहारी–अरेराज सडकखण्डमा स्कार्पियो र मकै बोकेको ट्र्याक्टर ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आइतबार राति हरसिद्धि थाना क्षेत्रको गायघाटस्थित धर्मकाँटानजिक भएको दुर्घटनाले दुई परिवारको खुसी खोसेको छ।
प्राप्त जानकारीअनुसार हरसिद्धि थाना क्षेत्रको सेवराहा गाउँका चार साथी निजी स्कार्पियोमा सवार भएर फिल्म हेर्न मोतिहारी जाँदै थिए। सोही क्रममा सडककिनारमा रहेको मकै लोड गरिएको ट्र्याक्टरमा स्कार्पियो ठोक्किएको थियो। टक्कर यति भीषण थियो कि स्कार्पियो क्षतिग्रस्त भयो र चारै जना गाडीभित्र फसेका थिए।
घटनाको सूचना पाएपछि प्रहरीको डायल ११२ टोली घटनास्थल पुगेको थियो। प्रहरीले चारै जनालाई गाडीबाट उद्धार गरी अस्पताल पुर्याएकोमा चिकित्सकले मनु कुमार सिंह र शुभम कुमारलाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते आदित्य कुमार सिंहलाई थप उपचारका लागि पटना रेफर गरिएको छ। चौथो घाइते युवकको पहिचान भने खुल्न सकेको छैन।
मृतक मनु कुमार सिंह चडरहिया पञ्चायतका पूर्वमुखिया मुरारी सिंहका छोरा हुन् भने शुभम कुमार सेवराहा निवासी अजय सिंहका छोरा हुन्।
यस दुर्घटनाले मनुका परिवारमा झन् ठूलो बज्रपात परेको छ। उनको विवाह हालै पश्चिम चम्पारणमा तय भएको थियो। घरमा विवाहको तयारी र शहनाई बज्ने प्रतीक्षाबीच दुर्घटनाले परिवारको खुसीलाई शोकमा बदलिदिएको छ। शुभमको निधनले पनि उनको परिवारसहित गाउँ नै शोकमा डुबेको छ
चारै साथी फिल्म हेर्ने योजना बनाएर हाँस्दै–रमाउँदै घरबाट निस्किएका थिए। तर, गन्तव्यमा पुग्नुअघि नै भएको दुर्घटनाले दुई साथीको जीवन समाप्त पार्यो भने अन्य दुई घाइते भए।
हरसिद्धिका अपर थानाध्यक्ष अविनाश कुमारका अनुसार दुर्घटनामा मृत्यु भएका दुवै युवकको शवको राति नै पोस्टमार्टम गराई परिवारलाई बुझाइएको छ। प्रहरीले दुर्घटनामा संलग्न स्कार्पियो र ट्र्याक्टर नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।






