वीरगंज महानगरपालिका–१६ इनर्वास्थित भन्सार क्षेत्रका दुई होटलमा प्रहरीले छापा मार्दै अनैतिक क्रियाकलापमा संलग्न रहेको आशंकामा होटल सञ्चालकसहित १२ जनालाई पक्राउ गरेको छ ।वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले भन्सार क्षेत्रमा सञ्चालित अभिषेक होटल र अर्को एक होटलमा छापा मारेर सात जना महिला र पाँच जना पुरुषलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेकामध्ये एक जना ४० वर्षीया होटल सञ्चालक महिला हुन्। पक्राउ परेकामध्ये नौ जना भारतीय नागरिक तथा तीन जना नेपाली महिला रहेका छन् ।
प्रहरी निरीक्षक सुवेदीका अनुसार ती होटलहरूमा केही दिनदेखि अनैतिक गतिविधि सञ्चालन भइरहेको भन्ने गुनासो प्राप्त भएपछि प्रहरीले गोप्य निगरानी बढाएको थियो । निगरानीका क्रममा अनैतिक क्रियाकलाप भइरहेको पुष्टि भएपछि छापा मारिएको उनले बताए । प्रहरीले होटलमा पुगेपछि सोधपुछ तथा पक्राउ प्रक्रिया सुरु गर्ने क्रममा अर्को होटलका सञ्चालक भने फरार भएका छन्। फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूको उमेर १९ देखि ४० वर्षसम्म रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ भने प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






