वीरगञ्ज । अस्ट्रेलियामा निधन भएका पर्सागढी नगरपालिका–७ चैनपुरका राकेश कुमार पटेलको पार्थिव शरीर करिब तीन महिनापछि शुक्रबार राति नेपाल ल्याइएको छ । लामो कानुनी प्रक्रिया र आवश्यक प्राविधिक तयारीका कारण ढिलाइ भए पनि अन्ततः पटेलको शव स्वदेश ल्याउन परिवार सफल भएको हो ।
२९ वर्षीय पटेल गत वर्ष चैत २० गते अस्ट्रेलियाको ताज्मानिया राज्यस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए । रोजगारीको सिलसिलामा अस्ट्रेलिया पुगेका उनको मृत्युको कारणबारे अहिलेसम्म आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक भएको छैन । घटनाबारे अस्ट्रेलियास्थित नेपाली दूतावासमार्फत परिवारलाई जानकारी गराइएको थियो ।
छोराको शव नेपाल ल्याइदिन माग गर्दै उनका पिता ब्रिजा राउत कुर्मीले २०८३ वैशाख २३ गते परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । तर लामो समयसम्म प्रक्रिया अगाडि नबढेपछि परिवारले चिन्ता व्यक्त गर्दै सहयोगको अपिल गरेको थियो ।
यस विषयमा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले असार १८ गते प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका थिए । उनले विदेशमा निधन भएका नेपाली नागरिकको शव सम्मानपूर्वक स्वदेश ल्याउने कार्यमा सरकारले प्रभावकारी पहल गर्नुपर्ने माग गरेका थिए ।
सांसद कानुको पहलपछि परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायबीच समन्वय बढाइएको थियो । यस्तै, अस्ट्रेलियामा रहेका नेपाली समुदायले पनि आवश्यक सहयोग जुटाउँदै शव नेपाल पठाउने प्रक्रियामा साथ दिएका थिए । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी शुक्रबार राति पटेलको पार्थिव शरीर काठमाडौं ल्याइएको हो ।
काठमाडौं पुगेपछि परिवारजनले शव बुझेका छन् । आफन्तहरू पार्थिव शरीर लिएर अन्तिम संस्कारका लागि पर्सागढी नगरपालिका–७ चैनपुरस्थित घरतर्फ प्रस्थान गरेका छन् । पटेलको अन्त्येष्टि कार्यक्रम शनिबार चैनपुरमै गरिने परिवारले जनाएको छ ।
तीन महिनादेखि छोराको अन्तिम दर्शनको प्रतीक्षामा रहेका परिवारका लागि शव स्वदेश आइपुग्नु पीडासँगै राहतको क्षण बनेको छ । शव नेपाल ल्याउन सहयोग पुर्याउने सबैप्रति परिवारले धन्यवाद व्यक्त गर्दै विशेषगरी सांसद सुशील कुमार कानुको पहलप्रति आभार प्रकट गरेको छ ।
स्वर्गीय राकेश कुमार पटेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।






