वीरगन्जमा आयाेजित रोजगार मेलामा २० जना विद्यार्थी रोजगारीका लागि छनोट

spot_img

वीरगन्ज,११असार:प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम हासिल गरेका युवा-युवतीहरूलाई रोजगारीका अवसरसँग प्रत्यक्ष रूपमा जोड्ने उदेश्यले वीरगन्जमा बिहीबार रोजगार मेला सम्पन्न भएको छ।क्वालिटी परियोजनाको प्राविधिक सहयोग तथा वीरगन्ज उद्योग वाणिज्य संघकाे आयाेजनाम एक दिने रोजगार मेला सम्पन्न भएको हाे ।

रोजगार मेलाले उद्योग क्षेत्र र प्राविधिक शिक्षालयबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै दक्ष जनशक्तिको माग र आपूर्तिबीचको दूरी कम गर्ने महत्वपूर्ण प्रयास गरेको आयोजकले जनाएको छ।

उक्त मेलामा विभिन्न प्राविधिक शिक्षालयमा अध्ययनरत तथा हालै स्नातक भएका १५० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।कार्यक्रमअन्तर्गत रोजगारका लागि आवश्यक तयारी सम्बन्धी विविध गतिविधिहरू सञ्चालन गरिएका थिए। सहभागी विद्यार्थीहरूलाई रोजगार अभिमुखीकरण, प्रभावकारी बायोडाटा तयार गर्ने तरिका, रोजगार आवेदन प्रक्रिया, अन्तर्वार्ताको तयारी तथा कार्यस्थलमा अपेक्षित व्यवहार सम्बन्धी जानकारी प्रदान गरिएको थियो । यसले विद्यार्थीहरूलाई श्रम बजारमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुर्‍याएको सहभागीहरूले बताएका छन् ।

रोजगार मेलामा औद्योगिक तथा उत्पादन क्षेत्रका प्रतिष्ठित कम्पनीहरूको सक्रिय सहभागिता रहेको थियो। जगदम्बा इन्टरप्राइजेज प्रा.लि., सर्वोत्तम स्टिल, के.एल. दुगार प्रा.लि., केएनपअं नेराेलक, हिमालयन डिस्टिलरी, लाइफ स्टार फार्मास्युटिकल्स, पतञ्जलि आयुर्वेद, हुलास स्टिल इन्डस्ट्रिज तथा एपेक्स फार्मास्युटिकल्स प्रा.लि. लगायतका उद्योगका प्रतिनिधिहरूले कार्यक्रममा सहभागी भई दक्ष जनशक्ति छनोटका लागि अन्तर्वार्ता सञ्चालन गरेका थिए ।

उद्योग प्रतिष्ठानहरूले विशेषगरी मेकानिकल, इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स तथा सिभिल इन्जिनियरिङ विषयका १०० भन्दा बढी विद्यार्थीहरूको अन्तर्वार्ता लिएका थिए। उद्योगहरूको आवश्यकता र विद्यार्थीहरूको दक्षताको आधारमा प्रारम्भिक छनोट प्रक्रियामार्फत २० जना विद्यार्थीहरू रोजगारीका लागि छनोट भएको बताइएकाे छ। छनोट भएका विद्यार्थीहरूलाई सम्बन्धित उद्योगहरूमा उपलब्ध पदअनुसार नियुक्ति प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

कार्यक्रममा सहभागी उद्योगी तथा शिक्षण संस्थाका प्रतिनिधिहरूले यस्ता रोजगार मेलाले शिक्षाबाट रोजगारीतर्फको यात्रालाई सहज बनाउनुका साथै उद्योग क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति प्राप्त गर्न महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए। साथै, उद्योगको आवश्यकता अनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न शिक्षालय र निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

रोजगार मेला केवल रोजगारी उपलब्ध गराउने माध्यम मात्र नभई विद्यार्थीहरूलाई उद्योग क्षेत्रसँग प्रत्यक्ष परिचित गराउने, श्रम बजारको वास्तविक मागबारे जानकारी दिने तथा भविष्यको करियर निर्माणका लागि मार्गदर्शन प्रदान गर्ने प्रभावकारी प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको आयाेजकले जनाएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः