वीरगञ्ज, असार ६ — वीरगञ्जको मेनरोड क्षेत्रमा सरकारले घर तथा अन्य संरचना हटाउने अभियान सञ्चालन गरेपछि प्रभावित स्थानीय बासिन्दाले शनिबार साँझ सिटी जुलुस निकालेर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।
आदर्शनगर चोकबाट सुरु भएको जुलुसमा प्रभावित परिवारका सदस्य तथा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले घर तथा संरचना हटाउँदा आफूहरू विस्थापित भएको भन्दै पुनर्वास, उचित क्षतिपूर्ति र वैकल्पिक व्यवस्थाको माग गरेका छन्।
स्थानीयवासीका अनुसार सरकारी निकायले पर्याप्त व्यवस्थापन र समाधानबिना घर तथा संरचना हटाउँदा देशकै प्रमुख प्रवेशद्वार तथा आर्थिक नगरी वीरगञ्जको ऐतिहासिक पहिचानसमेत प्रभावित भएको छ। यसले स्थानीय बासिन्दाको दैनिकीमा गम्भीर समस्या उत्पन्न गरेको उनीहरूको भनाइ छ।
प्रदर्शनका क्रममा सहभागीहरूले “हाम्रो घर सुरक्षित गर”, “डोजर आतंक बन्द गर”, “सुकुम्बासी बनाउन पाइँदैन”, “जनतालाई उठिबास गराउन बन्द गर”, “हामीलाई न्याय चाहिन्छ”, “मेनरोडलाई सहरी सडक घोषणा गर” तथा “ऐतिहासिक सहरको सम्मान गर” लगायतका नारा लगाएका थिए।
घण्टाघर पुगेर कोणसभामा परिणत भएको विरोध कार्यक्रममा प्रदर्शनकारीहरूले सरकारसँग वार्तामार्फत समस्या समाधान गर्न, प्रभावित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा मानवीय आधारमा पुनर्वासको व्यवस्था गर्न माग गरेका






