वीरगन्ज,२असार:त्रिभुवन राजमार्ग अन्तर्गत पर्ने वीरगन्जको मेन राेड (मुख्य सडक) मा भत्काउन बाँकी रहेका घर र भवनहरुमा फेरि डाेजर चल्ने भएको छ।गत बैशाख ६ र ७ गते सडक विभागले पहिलाे चरणमा सडक सीमा क्षेत्रमा (दायाँ-बायाँ २५/२५ मिटर) पर्ने घर,भवन लगायतका संरचना डाेजर लगाएर भत्काएको थियाे।त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र खाली गर्न अनुराेध गर्दापनि सम्बन्धित घरजग्गा धनीहरुले आँफैले खाली नगरेपछि सडक विभागले फेरि डाेजर लगाएर बाँकी संरचनाहरु हटाउने भएको हाे।
मंगलबार सडक विभाग मातहतकाे सडक डिभिजन हेटाैंडाले एक सुचना जारी गर्दै अबकाे ५ दिनभित्रमा घरजग्गा धनीहरु आँफैले सडक सीमा क्षेत्रमा पर्ने संरचनाहरु खाली नगरे सडक विभागले सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण कार्य अन्तर्गत सडक सीमा भित्र रहेका संरचनाहरू हटाउने जानकारी गराएकाे छ।
सडक डिभिजन हेटाैंडाले मंगलबार जारी गरेकाे सुचनामा भनिएको छ- त्रिभुवन राजपथको सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोक सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँ बायाँ २५-२५ मिटर सडक सीमा संरक्षण कार्य गत बैशाख ६ गतेबाट प्रारम्भ गरेकोमा उक्त कार्य पश्चात् पनि क्षतिग्रस्त भवनमा हालसम्म पनि बसोबास र व्यापार गरिरहेको बुझिएकोले उक्त जोखिमयुक्त भवनहरूमा बसोबास नगर्न तथा व्यापार व्यवसाय सञ्चालन नगर्न यस डिभिजन अनुरोध गर्दछ । यस सूचनालाई अवज्ञा गरी कुनै अप्रिय घटना घटेमा निज स्वयम् जिम्मेवार हुने व्यहोरा जानकारी गराइन्छ । साथै सडक सीमा भित्र बाँकी रहेका संरचनाहरू ५ (पाँच) दिन भित्र आफैँ हटाउनुहुन अनुरोध छ । अन्यथा यस डिभिजनबाट सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण कार्य अन्तर्गत सडक सीमा भित्र रहेका संरचनाहरू हटाइने व्यहोरा समेत जानकारी गराइन्छ ।
गत बैशाख ६ र ७ गते सडक विभागले गण्डक चाेकदेखि मितेरी पुलसम्मकाे मेनराेड क्षेत्रमा दायाँ-बायाँ २५/२५ मिटर सीमामा पर्ने करिब १ हजार २०० घर र भवनमा डाेजर चलाएर आंशिक रुपमा भत्काएकाे थियाे।त्यसपछि केही घरधनी आँफैले २५/२५ मिटर क्षेत्रमा पर्ने घरहरु भत्काएका थिए।तर घण्टाघरदेखी माईस्थान, आदर्शनगर हुँदै अलखियामठ चाेकसम्मकाे मेनराेड क्षेत्रका अधिकांश घर र भवनहरु भने घरधनीहरुले भत्काएका छैनन्।
यता बैशाख ६ र ७ गते सडक विभागले डाेजर चलाएपछि मेनराेड क्षेत्रका घरधनीहरुले सडक विस्तार कार्य राेक्न माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन्।सडक विस्तार कार्य राेक्नुपरने र मेनराेडलाई शहरी मार्ग कायम गर्नु पर्ने उनिहरुकाे माग छ।






