तस्करीमा प्रहरीकै मिलेमतो ? सीमावर्ती क्षेत्रमा रातभरि अवैध ओसारपसार भइरहेको आरोप

spot_img

वीरगञ्ज -पर्साको सीमावर्ती क्षेत्रमा पछिल्लो समय तस्करी गतिविधि तीव्र बन्दै गएको भन्दै स्थानीयवासीले गम्भीर प्रश्न उठाउन थालेका छन्। वीरगञ्ज अन्तर्गत पर्ने बजार छप्कैया क्षेत्रमा कार्यरत असई नेत्र रानाका घुमुवा “चौधरी” भन्ने व्यक्तिमाथि तस्करसँग मिलेमतो गरेर अवैध ओसारपसार गराइरहेको आरोप लागेको हो।

स्थानीय स्रोतका अनुसार खोलाको किनार हुँदै नरकटको बाटो प्रयोग गरी दैनिक रूपमा ठूलो परिमाणमा सामान नेपाल भित्र्याइने गरिएको छ। रातको समयमा हुने उक्त गतिविधिमा दिनहुँ करिब ४० देखि ५० पोका सामान ओसारपसार भइरहेको दाबी गरिएको छ।

स्थानीयवासीका अनुसार भारततर्फबाट ल्याइने कपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स लगायतका सामानहरू गोप्य बाटो प्रयोग गरी भित्र्याइँदा पनि सम्बन्धित निकाय मौन बसिरहेको आरोप छ।

“रातभरि तस्करी भइरहेको सबैले देखिरहेका छन्, तर नियन्त्रण गर्ने निकाय भने चुप लागेर बसेको छ,” एक स्थानीयले गुनासो गरे।स्रोतका अनुसार दैनिक लाखौं रुपैयाँ बराबरको सामान अवैध रूपमा नेपाल भित्रिने गरेको छ।

त्यस्तै, अलौ नाकामा कार्यरत बरिष्ठ सई मनबहादुर जिम्बाका घुमुवा हवल्दार नरेश गुप्तामाथि पनि तस्करसँगको मिलेमतोमा रातभरि अवैध सामान भित्र्याउने तथा ओसारपसार गराउने आरोप लागेको छ। स्थानीयका अनुसार सीमावर्ती क्षेत्रमा केही प्रहरी कर्मचारीकै संरक्षणमा तस्करहरू खुलेआम सक्रिय छन्।

“सिंघम प्रहरी” भन्दै सर्वसाधारणलाई धम्की !

स्थानीयवासीका अनुसार हवल्दार नरेश गुप्ता आफूलाई “सिंघम प्रहरी” भन्दै चिनाउने गरेका छन्। उनी सीमावर्ती क्षेत्रका पसल तथा होटलहरूमा पुगेर

“मेरो पहुँच प्रहरी हेडक्वाटरसम्म छ, मलाई एसपी र डिएसपीले पनि केही गर्न सक्दैनन्” भन्दै धम्क्याउने गरेको पीडित व्यापारीहरूको आरोप छ।

नाम नछाप्ने शर्तमा एक स्थानीय पसलेले बताए अनुसार गुप्ताले पैसा नतिरी होटल तथा पसलबाट सामान लैजाने, व्यवसायीलाई त्रसित बनाउने र मासिक असुली गर्ने कार्य गर्दै आएका छन्।

आईसीपी क्षेत्र वरिपरि देहव्यापार मौलाएको आरोप

स्थानीयले आईसीपी क्षेत्र आसपास रहेका होटल तथा मदिरा पसलहरूमा खुल्लमखुल्ला देहव्यापार भइरहेको गुनासो गरेका छन्। बारम्बार प्रहरीलाई जानकारी गराउँदा समेत कारबाही गर्नुको साटो केही प्रहरी कर्मचारीले नै मासिक रकम असुल्ने गरेको स्रोतको दाबी छ।

स्थानीयका अनुसार भारतीय गाडीका चालक तथा सहचालकलाई खाजा खुवाउने बहानामा महिलामार्फत फसाउने र लुटपाटसम्म हुने गरेको आरोप समेत उठेको छ।

“महिनावारी रकम” को लोभमा मौन प्रहरी ?

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार बरिष्ठ सई मनबहादुर जिम्बा आईसीपी गेट अगाडि रहेको एक खाजा पसल नजिकै दिनभर गाडी रोकेर बस्ने गरेका छन्। होटल तथा आसपासका गतिविधि देख्दादेख्दै पनि कुनै कारबाही नगर्नुले स्थानीयमा थप शंका उत्पन्न भएको छ।स्थानीयको आरोप छ— अवैध गतिविधिबाट आउने “महिनावारी रकम” कै कारण प्रहरी मौन बसेको हो।

प्रहरी संगठनमाथि नै प्रश्न

स्थानीयवासीले केही प्रहरी कर्मचारीकै कारण पुरै प्रहरी संगठन बदनाम भइरहेको बताएका छन्। सीमावर्ती क्षेत्रमा भइरहेको तस्करीले राज्यलाई ठूलो राजस्व घाटा पुग्नुका साथै सुरक्षा चुनौती समेत बढाएको उनीहरूको भनाइ छ।

स्थानीयले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। यद्यपि, यस विषयमा हालसम्म सम्बन्धित प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः