देशकै सबैभन्दा सुरक्षित मानिने सुन्धारास्थित केन्द्रीय कारागारबाट जन्मकैद सजाय भोगिरहेकी कैदी सपना तामाङ फरार भएपछि कारागार सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।प्रहरी निगरानी, काँडेतार र उच्च सुरक्षा व्यवस्थाबीच उनी कसरी भाग्न सफल भइन् भन्ने विषय अहिले अनुसन्धान भइरहेको छ ।२५ वर्षीया सपना तामाङ बालिका हत्या, अपहरण र डाँका/चोरी मुद्दामा जन्मकैद सजाय भोगिरहेकी कैदी हुन् । उनी यसअघि पनि जेलबाट भागेकी थिइन् ।
दोस्रोपटक पनि उनी फरार हुन सफल भएपछि कारागारभित्रको सुरक्षा संयन्त्र र प्रहरी समन्वयमाथि प्रश्न उठ्न थालेको हो ।
शनिबार मध्यरात साढे १ बजे उनी कारागारको पछाडिपट्टिको पर्खाल नाघेर फरार भएको सीसीटीभी फुटेजमा देखिएको कारागार प्रशासनले जनाएको छ । जेलर कृष्ण चापागाईंका अनुसार घटनाले सामान्य लापरबाहीभन्दा योजनाबद्ध तयारीको संकेत गरेको छ ।
‘सीसीटीभी फुटेज हेर्दा लामो समयदेखि योजना बनाएर उपयुक्त अवसर कुरेको देखिन्छ,’ चापागाईंले लोकान्तरसँग भने ।सपना पहिलोपटक २०८२ भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा जेल प्रशासनले कैदीलाई खुला स्थानमा निकालेका बेला भागेकी थिइन् । त्यसको दुई महिनापछि रसुवा प्रहरीले उनलाई धुन्चेबाट पक्राउ गरेको थियो ।
उनी रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया सुमिना तामाङको हत्या अभियोगमा दोषी ठहर भएकी थिइन् । प्रहरीका अनुसार २०७७ सालमा सुनको टप लुटेपछि घटना सार्वजनिक हुने डरले उनले बालिकाको हत्या गरेकी थिइन् ।
रसुवा जिल्ला अदालतले उनलाई अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान तथा डाँकाचोरी मुद्दामा दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको थियो ।
प्रहरी अनुसन्धानले सपना किशोर अवस्थादेखि नै चोरी तथा डकैतीमा संलग्न रहेको देखाएको छ । पटक–पटक पक्राउ परे पनि सुधारको मौका दिँदै छाड्ने प्रवृत्तिले अन्ततः गम्भीर अपराधसम्म पुग्न सहयोग गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
सुन्धारा कारागारको सुरक्षा जिम्मा नेपाल प्रहरीका डीएसपी शैलेस न्यौपानेको नेतृत्वमा रहेको थियो । तर, कैदी फरार हुँदासमेत सुरक्षाकर्मी बेखबर देखिएको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयले आन्तरिक अनुसन्धान थालेको छ ।
एसएसपी प्रवीण धितालका अनुसार सपना कसरी भाग्न सफल भइन् र त्यसमा सुरक्षाकर्मीको कमजोरी थियो वा थिएन भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।






