खसीको मासु मूल्य प्रतिकेजी ११ सय कायम, पसल दर्ता र नवीकरण अनिवार्य

spot_img

वीरगंज महानगरपालिका क्षेत्रमा खसीको मासुको मूल्य प्रतिकेजी १ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।

मासु व्यवसायीहरूले मनपरी मूल्य लिन थालेपछि स्थानीय प्रशासन, स्थानीय तह तथा सरोकारवाला निकायहरूको संयुक्त बैठकले नयाँ मूल्य निर्धारण गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल को अध्यक्षतामा बसेको बैठकमा जिल्लाका १४ वटै स्थानीय तहका प्रतिनिधि, पशु क्वारेन्टाइन कार्यालय, मासु व्यवसायी, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बैठकले वीरगंज महानगरपालिका बाहेक अन्य नगरपालिका तथा गाउँपालिकामा खसीको मासुको मूल्य प्रतिकेजी १ हजार रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ । साथै, तोकिएको मूल्यभन्दा बढी रकम उपभोक्तासँग लिए कारबाही गरिने समेत निर्णय गरिएको छ । वीरगंज महानगर क्षेत्रमा भने खसी खरिद, ढुवानी, लोडिङ–अनलोडिङ, कर, स्टोर भाडा, श्रमिक खर्च, काटिसकेपछिको वेस्टेज तथा व्यवसायीको उचित नाफासमेतलाई आधार मानेर वास्तविक खुद लागत मूल्य निर्धारण गरिएको बैठकले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार सोही आधारमा तत्कालका लागि प्रतिकेजी १ हजार १ सय रुपैयाँमा खसीको मासु बिक्री गर्ने निर्णय गरिएको हो । बैठकमा सहभागी प्रतिनिधिहरूले उत्पादक, उपभोक्ता तथा व्यवसायी सबै पक्ष मर्कामा नपर्ने गरी सन्तुलित मूल्य कायम गर्नुपर्नेमा जोड दिएका थिए । साथै, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने तथा गुणस्तरहीन मासु बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न नियमित बजार अनुगमनलाई प्रभावकारी बनाइने निर्णय पनि गरिएको छ ।

त्यसैगरी, स्थानीय तहभित्र सञ्चालन हुने मासु पसल अनिवार्य रूपमा दर्ता तथा नवीकरण गर्नुपर्ने, सरसफाइ मापदण्ड पालना गर्नुपर्ने र प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहको समन्वयमा नियमित अनुगमन गरिने निर्णयसमेत गरिएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः