वीरगंज, २५ वैशाख । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा खोलाबाट अवैध रूपमा ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन भइरहेको अवस्थामा डिभिजन वन कार्यालय बाराको गस्ती टोलीले एक जेसीबी र दुई टिपर नियन्त्रणमा लिएको छ।
डिभिजन वन कार्यालय बाराका वन अधिकृत राजेश कुमार साहको नेतृत्वमा खटिएको टोलीले बुधबार दिउँसो उक्त सवारीसाधन नियन्त्रणमा लिएको डिभिजनल वन अधिकृत सुजित कुमार झाले जानकारी दिए।
नियन्त्रणमा लिइएका टिपरमध्ये ना ७ ख ४८२५ र मधेश प्रदेश ०३–००१ क ३०११ नम्बरका टिपर रहेका छन्। गस्ती टोलीमा सशस्त्र वन रक्षक कमाण्डर नागेन्द्र बैठासहित सुरक्षा तथा वनकर्मीको सहभागिता रहेको थियो।
वन कार्यालयका अनुसार उपमहानगरपालिकाबाट नदिजन्य पदार्थ उत्खननको ठेक्का पाएको ठेकेदारले वन क्षेत्रभित्र नियमविपरीत घाटगद्दी राख्ने, जथाभावी उत्खनन गर्ने तथा वातावरणीय अध्ययन प्रतिवेदनविपरीत कार्य गरेको पाइएपछि कारबाही स्वरूप सवारीसाधन नियन्त्रणमा लिइएको हो।
डिभिजन वन कार्यालय बाराले अवैध उत्खननमा संलग्न सवारीसाधनमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै प्राकृतिक स्रोतको अवैध दोहन रोक्न नियमित अनुगमन तथा गस्तीलाई अझ कडा बनाइने डिभिजनल वन अधिकृत झाले बताए।






