सीमा चेकिङ कडा हुँदा टाटा सफारीबाट ३० किलो गाँजा बरामद

भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको निगरानी कडा बनाइँदै जाँदा लागूऔषध तस्करी नियन्त्रणमा अर्को महत्वपूर्ण सफलता हासिल भएको छ ।

 

बारा जिल्लासँग जोडिएको सीमाक्षेत्र नजिक सशस्त्र सीमा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले टाटा सफारी गाडीबाट ३० किलोभन्दा बढी गाँजा बरामद गरेको हो ।

 

सोमबार साँझ करिब ५ बजेतिर भारतीय पक्षस्थित बिओपी झरोखर चेकपोस्टमा नियमित सवारी जाँच भइरहेका बेला नो म्यान्स ल्याण्ड क्षेत्रमा केही सवारीसाधन पालो कुरिरहेका थिए । सोही क्रममा एउटा टाटा सफारीका चालक अचानक गाडी छाडेर फरार भएपछि सुरक्षाकर्मीलाई शंका लागेको थियो ।

 

त्यसपछि चेकपोस्टमा खटिएको टोली तथा झरोखर प्रहरी घटनास्थलमा पुगेर गाडीको विस्तृत जाँच गरेको थियो । जाँचका क्रममा गाडीभित्र लुकाइ राखिएको अवस्थामा करिब ३० किलोभन्दा बढी गाँजा फेला परेको हो ।

 

एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार गाँजा सुरक्षित प्याकेटमा राखिएको अवस्थामा बरामद गरिएको हो । बीआर ०५ पी ७३१८ नम्बरको उक्त टाटा सफारीभित्र सवारी दर्ता प्रमाणपत्र समेत फेला परेको जनाइएको छ ।

 

एसएसबीका प्रवक्ता बिनित कुमार सिंहका अनुसार बरामद गाँजा सीमा स्तम्भ नम्बर ३५७/०३ नजिक झरोखर गाउँ आसपासको नो म्यान्स ल्याण्ड क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

 

हाल गाडीसहित बरामद गाँजा नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार गाँजा मकवानपुरबाट बारा हुँदै सीमातर्फ ल्याइएको हुन सक्ने अनुमान गरिएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः