पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले लाइसेन्स नभएको भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
हिजो (बिहीबार) राति करिब ९ः४७ बजेको समयमा पर्सागढी नगरपालिका–१ स्थित कोईलाभार गाउँमा झै–झगडा भइरहेको भन्ने सूचना पाएपछि अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।प्रहरी टोली पुगेका बेला पर्सागढी नगरपालिका–१ निवासी ३८ वर्षीय जय नारायण खवास मादक पदार्थ सेवन गरी हो हल्ला गर्दै स्थानीय व्यक्तिहरूलाई गालीगलौज गरिरहेको अवस्थामा फेला परेका थिए। जाँचका क्रममा खवासको साथबाट लाइसेन्स नभएको भरुवा बन्दुक एक थान र सोही बन्दुकका गोली १३ राउण्ड बरामद गरिएको प्रहरीले जनाएको छ।बरामद गरिएको हतियार तथा गोलीसहित खवासलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले अवैध हतियार प्रयोग तथा शान्ति सुरक्षामा असर पुर्याउने गतिविधिप्रति कडाइका साथ कारबाही गरिने बताएका छन्।




