वीरगञ्ज । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेका बालेन्द्र शाह (बालेन) जनकपुरधाम पुगेका छन् । रास्वपा सभापति रवि लामिछानेसँगै जनकपुर उत्रिएका उनलाई स्वागत गर्न विमानस्थलमा ठुलो मात्रामा कार्यकर्ता तथा समर्थक उर्लिएका थिए ।
बालेनले आइतबार अपराह्न मेयर पदबाट राजीनामा दिएका थिए । राजीनामापछि उनी केही समय रास्वपाको केन्द्रीय कार्यालय (घण्टीघर) पुगेका थिए र त्यहाँबाट सभापति लामिछानेसहित जनकपुर प्रस्थान गरेका हुन् । जनकपुर विमानस्थलमा रास्वपाका नेता–कार्यकर्ताले बालेन र रविलाई भव्य स्वागत गरेका थिए ।
विमानस्थलमा जम्मा भएका समर्थकहरूलाई संक्षिप्त सम्बोधन गर्दै बालेनले सबैलाई शान्त रहन र भोलिको कार्यक्रममा आउन आग्रह गरे । उनले भने, “तपाईँहरूलाई भेट्न पाउँदा, देख्न पाउँदा एकदमै खुसी लागेको छ, साह्रै माया लागेको छ । हामी भर्खरै आइपुग्यौँ, भोलिको कार्यक्रमका लागि थोरै योजना तथा व्यवस्थापनका काम बाँकी छन् । जिल्लाका सुरक्षा प्रमुखसँग पनि छलफल गर्नुपर्ने छ । आजका लागि नआत्तिईकन शान्त भएर बसिदिनुहोला। भोलि कार्यक्रम स्थलमै सबै जना आउनुहोला, त्यहीँ भेटौँला ।”
जनकपुर आइपुगेपछि बालेनको जानकी मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम छ । राति जनकपुरमै बस्ने उनीहरू सोमबार बिहान सिराहाको लहान प्रस्थान गर्नेछन् । मधेस आन्दोलनका क्रममा सहिद भएकाहरूको सम्झनामा मनाइने बलिदानी दिवसका अवसरमा लहानस्थित मधेसी सहिद पार्कमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
लहानको कार्यक्रमपछि उनीहरू जनकपुरधाम उपमहानगरपालिका–४ तिरहुतिया गाछीमा आयोजना हुने ‘परिवर्तनको उद्घोष’ सभामा सहभागी हुनेछन् । रास्वपा केन्द्रीय कमिटीको आयोजनामा हुने सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्नेछन् । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सभा पहिलो पटक लामिछाने र बालेनले एउटै मञ्चबाट चुनावी उद्घोष गर्ने अवसर हो ।
रास्वपाले सोमबारदेखि धनुषालगायत मधेस क्षेत्रमा निर्वाचन प्रचार अभियान सुरु गर्दै छ । मधेस प्रदेश सरकारले माघ ५ लाई बलिदानी दिवसका रूपमा सार्वजनिक बिदा दिएको छ ।




