वीरगञ्ज । आप्रवासी नीतिमा कडाइ गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालका ग्रिन कार्ड चिट्ठा कार्यक्रम (डिभी) तत्कालका लागि स्थगित गरेको बताएका छन् । ट्रम्पको निर्णयसँगै प्रत्येक वर्ष नेपालसहितका विभिन्न देशबाट ५५ हजारसम्म आप्रवासी भिसा रोकिनेछन् ।
कम आप्रवासन दर भएका देशका नागरिकलाई स्थायी बसोबासका लागि आवेदन अनुमति दिने डाइभर्सिटी भिसा (डिभी लटरी) अस्थायी रूपमा बन्द गरिएको हो । ट्रम्प प्रशासनले सन् २०२७ को डिभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गर्ने बताइसकेको थियो । उक्त घोषणाको एक महिनापछि डिभीमाथि कडाइ गरिएको हो ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्योरिटी मन्त्री क्रिस्टी नोमले यो निर्णय ट्रम्पको निर्देशनमा लिइएको र अमेरिकी नागरिकता तथा आप्रवासन सेवालाई कार्यक्रम रोक्न भनिएको बताइन् ।
कार्यक्रमले ब्राउन युनिभर्सिटी र एमआईटी गोलीकाण्डका आरोपितलाई अमेरिका आउन अनुमति दिएको र यस्तो हिंस्रक व्यक्तिलाई अमेरिकामा कहिल्यै प्रवेश गर्न दिनु हुँदैनथ्यो भनी नोमले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेकी छन् ।
डिभीमा छनोट भएका आवेदकले स्थायी बसोबासको अनुमति पाउनुअघि शिक्षा वा कार्य अनुभवको आवश्यकताहरू पूरा गर्नुपर्छ र सुरक्षा तथा पृष्ठभूमि जाँच पास गर्नुपर्छ ।
डिभी कार्यक्रममार्फत कयौँ नेपाली अमेरिका पुगेका छन् । तर, आगामी वर्षका लागि यो कार्यक्रम बन्द हुने भएपछि नेपाली पनि प्रभावित हुनेछन् ।
सन् २०२५ को डिभीका लागि नेपालसहितका देशका करिब २ करोड मानिसले आवेदन दिएका थिए। तीमध्ये १ लाख ३१ हजारभन्दा बढी व्यक्ति छनोट भएका थिए । गत महिना ट्रम्प प्रशासनले सन् २०२७ को चक्रका लागि डिभी लटरी प्रवेश प्रक्रिया परिमार्जन गर्ने योजना बनाएको घोषणा गरेको थियो ।




