वीरगञ्ज । नेपाल सरकारले भारतीय रुपैयाँ २०० र ५०० दरका नोटहरू प्रतिव्यक्ति अधिकतम २५ हजार रुपैयाँसम्म नेपाल–भारत सीमापार ओसारपसार गर्न अनुमति दिएको छ । नयाँ व्यवस्था सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका नयाँ शृङ्खलाका नोटहरूमा मात्र लागू हुनेछ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए । उनका अनुसार, नेपाली तथा भारतीय नागरिक दुवैले भारतबाट नेपाल भित्र्याउन वा नेपालबाट भारत लैजान यो सुविधा पाउनेछन् ।
यसअघि भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले १०० रुपैयाँभन्दा माथिका नोटहरू नेपालमा ल्याउन र प्रयोग गर्न अनुमति दिने परिपत्र जारी गरेको थियो । आरबीआईको निर्णयपछि नेपाल सरकारले आवश्यक व्यवस्था मिलाएको हो ।
निर्णयले सीमापार व्यापार, पर्यटन र नेपाली कामदारहरूको सुविधामा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । यसले भारतीय पर्यटकहरूलाई पनि नेपालमा उच्च मूल्यका नोट बोकेर आउन सहज बनाउने छ ।
नयाँ व्यवस्थाले दशक लामो प्रतिबन्धलाई सहज बनाएको छ । यसअघि १०० रुपैयाँभन्दा माथिका नोटमा कडा प्रतिबन्ध रहेको थियो ।




