वीरगन्ज । वीरगन्ज महानगरपालिकाको आयोजनामा आज (बिहीबार) सिटीनेट नेपाल राष्ट्रिय अध्याय (CNNC) को एकदिने विशेष कार्यक्रम होटल सरोवर, वीरगन्जमा सञ्चालन भइरहेको छ।
कार्यक्रममा देशभरका महानगर, उप–महानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख–उपप्रमुखसहित स्थानीय सरकारका उच्च अधिकारीहरू र विभिन्न निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।
शहरी विकास, सेवा प्रवाह सुधार, स्थानीय सरकारबीच सहकार्यका मोडेल तथा आगामी नीति रणनीतिबारे केन्द्रित छलफलहरू जारी रहेका छन्।
कार्यक्रमको उद्घाटन सिटिनेट नेपालका राष्ट्रिय अध्यक्ष, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गमलामा पानी हालेर गर्नुभएको हो ।
कार्यक्रमको प्रारम्भमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) का स्वर्गीय बुवाप्रति मौनधारण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो । स्वागत मन्तव्य वीरगन्ज महानगर उप प्रमुख इम्तेयाज आलमले दिएका थिए ।
सिटिनेट नेपाल राष्ट्रिय अध्यक्ष, विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाको अध्यक्ष्तामा जारी यो भेलाले स्थानीय शासन प्रणाली सुदृढीकरण तथा संयुक्त प्रयासमार्फत सहकार्यको नयाँ आयाम विकास गर्ने उद्देश्यले महत्वपूर्ण मानिएको छ।




