बीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय, पर्साको विशेष सूचनाको आधारमा खटिएको संयुक्त टोलीले अवैध रूपमा भन्सार छली गरी भारतबाट ल्याइएका १५० क्यारेट केरा बरामद गरेको छ।
सीमा सुरक्षा गुल्म बीरगञ्ज र बीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिहरू समावेश भएको टोलीले वीरगञ्ज महानगरपालिका–१५, भिष्वास्थित एनएमसी रोडमा रहेको ‘मनिस फ्रुट सप्लायर्स’ को गोदाममा गरिएको छापामारी क्रममा सम्भु कुमार गुप्ताले भण्डारण गरिराखेको उक्त केरा नियन्त्रणमा लिएको हो।बरामद गरिएको सबै मालसामान आवश्यक कारवाहीका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइिएको सशस्त्र प्रहरीले जनाएको छ।हाल नेपालका किसानहरूले आफ्नै उत्पादनलाई बजारमा स्थान नपाएको, भारतबाट आयातित फलफूल र तरकारीले बजार ओगटिरहेको गुनासो बढिरहेका बेला सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध कारोबार नियन्त्रणलाई थप कडाइका साथ अघि बढाएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनले बताए ।




