वीरगञ्ज। बाराको करैयामाई गाउँपालिका–१ हरैयामा एक चिनियाँ नागरिकले नाबालिकासँग विवाह गर्न लागेको सूचनामा समयमै हस्तक्षेप गर्दै प्रहरीले बुधबार मध्यराति बेहुला–बेहुली र बेहुलीका बाबुलाई नियन्त्रणमा दिएको छ।
जिल्ला प्रहरी कार्यालय कलैयाका अनुसार विवाहका तयारी चलिरहेको घरमै पुगेर निरीक्षण गर्दा युवती नाबालिक भएको पुष्टि भएको थियो। सोही कारण विवाह रोक्दै तीनै जनालाई नियन्त्रणमा लिएर कार्यालयमा राखी अनुसन्धान अघि बढाइएको हो। पक्राउ परेकाहरूको परिचय भने प्रारम्भिक चरणमा सार्वजनिक गरिएको छैन।
प्रारम्भिक अनुसन्धानले चिनियाँ पुरुषसँग मान्य पासपोर्ट र भिसा रहेको पाइएको छ। प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा सो गाउँ तथा वरपरका बस्तीमा चिनियाँ नागरिकसँग मुस्लिम समुदायका महिलाहरूको विवाह हुने घटना दोहोरिन थालेपछि निगरानी कडा गरिएको थियो। स्थानीयवासीहरूको दाबी अनुसार गत एक वर्षमै सोही बस्तीमा तीन यस्तो अन्तरदेशीय विवाह भइसकेका छन्।




