
वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ की महिला समाजसेवी एवम् वडा सदस्य सन्जु दहालले वीरगञ्ज समाज सेवा संस्थालाई नगद सहयोग गरेकी छिन्। आज बिहान १० बजे आयोजित कार्यक्रममा उनले स्वयम् उपस्थित भई संस्थाका सचिव प्रकाश बहितीलाई सो सहयोग रकम हस्तान्तरण गरिन्।

दहालले आफ्नो मन्तव्यमा भनिन्, “गरिब, निमुखा, बिरामी, कुरुवा र असहायहरुलाई खाना खुवाउनु निकै पुण्यको कार्य हो। म यो सामाजिक कार्यमा योगदान दिन पाउँदा अत्यन्तै खुसी छु। आगामी दिनमा पनि मैले सकेसम्म सहयोग गर्नेछु।” उनले मनकारी दाताहरुलाई सामाजिक सेवाका यस्ता कार्यमा तन, मन र धनले सहयोग गर्न आग्रह पनि गरिन्।
३३औं हप्ता निशुल्क भोजन वितरण कार्यक्रम सम्पन्न
वीरगञ्ज समाज सेवा संस्थाद्वारा ३३औं हप्ता निशुल्क भोजन वितरण कार्यक्रम सम्पन्न भएको छ। प्रत्येक शनिबार बिहान १० बजे नारायणी अस्पतालको प्राङ्गणमा आयोजित यस कार्यक्रममार्फत गरिब, बिरामी, कुरुवा तथा असहायहरुलाई पोषणयुक्त शुद्ध खाना प्रदान गरिँदै आएको छ।
आजको भोजनमा स्वादिष्ट दाल, भात, तरकारी र अचार समावेश गरिएको थियो। संस्थाका सदस्य अभिलाष गुप्ताका अनुसार, “हरेक हप्ता करिब ४५० देखि ५०० जनाले यो निशुल्क भोजन लाभ लिँदै आएका छन्। मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो, त्यसैले इच्छुक व्यक्तिहरुले हामीसँग मिलेर सेवा गर्न सक्नेछन्।”
सहभागीहरुका नामावली
आजको कार्यक्रममा सहभागी भई सहयोग गर्नेहरूमध्ये प्रमुख व्यक्तिहरु अध्यक्ष अशोक कुमार गुप्ता, उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बहिती, कोषाध्यक्ष विनोद सराफ, सदस्यहरु मदन प्रसाद गुप्ता, राजु रुङ्ग्टा, वकिल प्रसाद रौनियार, रमेश अग्रवाल, वीरेंद्र प्रसाद आर्या, हरेन्द्र प्रसाद, निसान्त लाठ, देवव्रत आर्या, राम बाबू, राधेश्याम गुप्ता, तथा सञ्चारकर्मी अभिलाष कुमार गुप्ता रहेका छन्।
निशुल्क भोजन वितरणजस्ता सामाजिक कार्यले गरिब तथा असहायहरुको जीवनमा सकारात्मक प्रभाव पार्दै आएको छ। यस कार्यलाई निरन्तरता दिन संस्थाले सहयोग गर्न इच्छुक सम्पूर्णलाई साथ दिन आग्रह गरेको छ।




