वीरगञ्ज : सोमबार मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न गएका ८ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले ठूलो भिडभाड र नाराजुलुस गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका प्रसाईंका केही कार्यकर्तालाई स्क्रिनिङ गर्नको लागि नियन्त्रणमा लिएको बताए। नियन्त्रणमा लिएका केही व्यक्तिले सामाजिक सञ्जालमा प्रहरी कार्यालय तोडफोड गरेर भए पनि दुर्गा प्रसाईंलाई निकाल्नुपर्छ भन्दै अवाञ्छित सूचना फैलाएका थिए। उनीहरूको आपराधिक रेकर्ड हेर्न र अराजक समूहको निगरानी गर्नको नियन्त्रणमा लिइएको प्रवक्ता भट्टराईले जानकारी दिए।
प्रसाईं पक्राउ गर्नासाथ उनका समर्थकहरू नाराबाजी गर्दै जिल्ला प्रहरी परिसर पुगेका थिए। प्रसाईंलाई छाड्नुपर्ने भन्दै विरोध गरेका थिए। प्रहरीका अनुसार उनीहरूको केही समूहले सामाजिक सञ्जालमा अनेक भ्रामक सूचना फैलाइरहेका छन्।
सोमबार राति पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न हिरासतमा राख्नको लागि चार दिनको म्याद दिएको छ।
म्याद थपका लागि प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो। सो क्रममा प्रसाईंले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने जानकारी नभएको बताएका थिए। राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना गर्ने आन्दोलन घोषणा गरेका प्रसाईंलाई भड्काउपूर्ण अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका थिए।
किन पक्राउ परे प्रसाईं ?
दुर्गा प्रसाईंले पछिल्लो समय देशव्यापी हडताल हुने भन्दै आक्रामक अभिव्यक्ति दिइरहेका थिए। उनले संविधान संशोधन गरेर हिन्दु राष्ट्र पुनस्र्थापना हुनुपर्ने सहितका माग राखेर देशव्यापी हडतालको समेत आह्वान गरेका थिए। सोमबारमात्रै केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो।
यो बैठकमा सुरक्षा व्यवस्थाका चुनौतीबारे छलफल भएको थियो। शान्ति सुरक्षा खलल पुर्याउने व्यक्ति तथा समूहको निगरानी गर्ने सरकारको निर्णय छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार, प्रसाईंका गतिविधिले देशैभरको शान्ति व्यवस्था खलल हुन सक्ने आशंकामा उनलाई पक्राउ गरिएको हो। उनले गर्ने भनिएको आन्दोलन र अन्य गतिविधिको निगरानी भइरहेको छ।
पछिल्लो समय प्रसाईंका गतिविधिबारे प्रशासनले निगरानी राखिरहेको र प्रहरी संगठनलाई होच्याउने र सार्वजनिक शान्तिमा खलल पर्ने किसिमका अभिव्यक्ति दिएका कारण उनी पक्राउ परेका हुन्।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, शान्तिपूर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप नगर्ने तर शान्ति बिथोल्ने गतिविधि भए सुरक्षा निकायले तत्कालै कारबाही गर्ने बताए। मंसिर दोस्रो साताबाट पुनः आन्दोलनको घोषणा गरेका उनले पछिल्लो समय सार्वजनिक मञ्च र सामाजिक सञ्जालबाट सरकारबारे बोलिरहेका थिए।
उनले सोमबार अबेर आफ्नो फेसबुकमा सार्वजनिक गरेको भिडिओमा सरकारको निर्माण र जेन—जी आन्दोलन बाह्य शक्तिको आडमा भएको आरोप लगाएका थिए।




