२४ लाखको लागतमा वीरगंज-३१ का विद्यालय र सार्वजनिक स्थानमा शौचालय निर्माण

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ३१ अन्तर्गतका स्थानीय बासिन्दाको दैनिक जीवन सहज बनाउने उद्देश्यले सार्वजनिक शौचालय निर्माण सम्पन्न गरिएको छ ।

सामाजिक संस्था “नमस्ते गुम्डा” को आर्थिक सहयोगमा वडा अन्तर्गतका २ वटा सामुदायिक विद्यालय र २ वटा सार्वजनिक स्थानमा गरी जम्मा ४ वटा शौचालय निर्माण सम्पन्न गरिएको हो ।

करीब २४ लाख रुपैयाँको लागतमा सम्पन्न उक्त निर्माण कार्य औपचारिक रूपमा एक विशेष कार्यक्रमकाविच हस्तान्तरण गरिएको छ ।

संस्थाले निर्माण गरेको शौचालयहरू मध्ये दुई विद्यालय सोलकपुर माध्यमिक विद्यालय र दलित आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षक शिक्षिकाको प्रयोगका लागि निर्माण गरिएको हो भने, बाँकी दुई स्थान सोलकपुर चोक र लक्ष्मीपुर चोकमा सर्वसाधारणको प्रयोगका लागि निर्माण गरिएको हो ।

सार्वजनिक स्थानमा शौचालयको अभावले स्थानीयवासी र आउजाउ गर्नेहरुलाई निकै असहजता भोग्नुपरेको भन्दै, अब यी शौचालयहरूले सफाइ, स्वास्थ्य र स्वच्छता प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

नमस्ते गुम्डाका प्रतिनिधि कृष्ण धरेलले सार्वजनिक शौचालयको अभाव देखिएकाले आफूहरुले प्राथमिकता दिएर चार स्थानमा शौचालय निर्माण गरेको बताउँदै यसको संरक्षण र प्रयोगमा स्थानीयले जिम्मेवारीपूर्वक भूमिका खेल्ने अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवले स्थानीयको आवश्यकतालाई ध्यान दिएर शौचालय निर्माण गरिदिएकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । टंकी धारा र शौचालय निर्माण गरेर हस्तान्तरण गरेको उपलक्ष्यमा वडा कार्यालयले संस्थालाई सम्मान समेत गरेको छ ।

सफा र स्वस्थ समुदाय निर्माणमा यस्ता पहल अत्यन्तै उदाहरणीय रहेको उल्लेख गर्दै, आगामी दिनमा पनि यस्तै सामाजिक संस्थाको सहकार्यमा विकासका कार्य निरन्तर रहने अपेक्षा वडा कार्यालयको रहेको पनि वडाध्यक्ष यादवले बताउनु भयो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः