वीरगञ्जका जेन-जी युवाहरूको दबाव पश्चात् नारायणी रंगशाला विस्तार र टीबी शाह मैदान स्तरोन्नति गर्ने मन्त्री गुप्ताको प्रतिवद्धता

वीरगञ्ज । सङ्घीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा मन्त्रालय पुगेको जेन-जी युवा तथा सरोकारवालाहरूको टोलीले क्रिकेट र खेलकुद पूर्वाधार विकासका विविध विषयमा विस्तृत छलफल गरेको छ ।

छलफलमा उठाइएका मागहरूमा मन्त्री गुप्ताले पूर्ण सकारात्मक प्रतिक्रिया दिँदै तत्काल प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका छन् ।

छलफलका क्रममा अध्यक्ष मनिष सिंहले वीरगञ्जको नारायणी रङ्गशालासँगै जोडिएको टिबी साह क्रिकेट मैदानको स्तरोन्नतिको आवश्यकता जोड दिँदै मैदान स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडीहरूको अभ्यास केन्द्र भएको बताए ।

मैदानको स्तरोन्नति र विस्तार नहुँदा खेलाडीहरूको प्रतिभा विकासमा बाधा पुगिरहेको जानकारी गराउँदै सिंहले मुआब्जा प्रक्रियालगायतका बाधाहरू छिटो हटाएर काम अघि बढाउन मन्त्री गुप्तासँग आग्रह गरे ।”

त्यस्तै सिंहले नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, ११औँ राष्ट्रिय खेलकुद मधेस प्रदेशमा सफलतापूर्वक आयोजना गर्न पूर्वाधार तयार पार्ने, मधेसका प्रत्येक सरकारी विद्यालयमा एक-एक जना खेलकुद प्रशिक्षक नियुक्त गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूका लागि पोषणयुक्त आहारको व्यवस्था गर्ने र वीरगञ्ज कै आदर्शनगर रङ्गशालाको स्तरोन्नति गर्ने मागलाई प्राथमिकताका साथ उठाएको छलफलमा सहभागी जेन-जी युवा आशिष् गुप्ताले जानकारी दिए ।

सिंह नेतृत्वको टोलीले उठाएको विषयहरू प्रति मन्त्री बब्लु गुप्ताले सकारात्मक जवाफ दिँदै युवाहरूको मागअनुसार नै वर्तमान सरकार सञ्चालन भइरहेको जानकारी गराउँदै भने, “तपाईँहरूले उठाएका सबै जायज मागहरू सम्बोधन गर्न म व्यक्तिगत रूपमा लागिपर्छु । टिबी साह मैदानको मुआब्जा प्रक्रिया छिट्टै टुङ्ग्याएर काम थाल्छौँ, नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्रक्रिया अगाडि बढाउँछौँ र ११औँ राष्ट्रिय खेलकुदका लागि मधेसमा आवश्यक पूर्वाधार निर्माणमा कुनै कसर बाँकी राख्ने छैनौँ ।” उनले विद्यालय स्तरमा प्रशिक्षक नियुक्ति र खेलाडीहरूको पोषण व्यवस्थालाई पनि प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

सिंहले मन्त्री गुप्ताको प्रतिबद्धताले मधेस प्रदेशको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे । छलफलले स्थानीय स्तरदेखि राष्ट्रिय खेलकुद विकाससम्म महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः