वीरगञ्ज । नेपाल शिक्षक महासङ्घले देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको हकहितका लागि आन्दोलनको थालनी गरेको छ । महासङ्घको केन्द्रीय निर्देशनअनुसार पर्सा जिल्लामा पनि आइतबार शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवको नेतृत्वमा दिउँसो १ बजेदेखि ३ बजेसम्म इकाई परिसरमा धर्ना दिइएको थियो । धर्नापश्चात् इकाई प्रमुख हरि राउतलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
अध्यक्ष यादवका अनुसार, देशका ७७ वटै जिल्लामा एकैसाथ २ घण्टे धर्ना र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको हो । आन्दोलन गत चैतदेखि काठमाडौँमा २९ दिनसम्म चलेको सडक आन्दोलनको निरन्तरता हो ।
सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐनको मस्यौदाप्रति असहमति जनाउँदै महासङ्घले प्रथम चरणको आन्दोलन गरेको हो । गत वैशाख १७ गते सरकारसँग ९ बुँदे सहमति भए पनि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले उक्त सहमति बेवास्ता गरी विधेयकको मस्यौदा पेस गरेको भन्दै महासङ्घ आन्दोलनमा उत्रिएको अध्यक्ष यादवले बताए ।
“सरकारले बारम्बार सम्झौता गरेर पनि कार्यान्वयन नगरेपछि हामी आन्दोलनमा उत्रिन बाध्य भएका छौँ,” यादवले भने, “अबको आन्दोलन विगतको भन्दा कडा हुनेछ ।”
कार्यक्रममा पर्साका १४ वटै स्थानीय तहका शिक्षकहरूको बाक्लो उपस्थिति थियो । महासङ्घ पर्साका सचिव विनोद गिरीले कार्यक्रमको सहजीकरण गरेका थिए ।
नेपाल शिक्षक महासङ्घले सरकारसँगको सहमति कार्यान्वयन र शिक्षकहरूको हकहित सुनिश्चित गर्न थप दबाबमूलक कार्यक्रमहरू गर्ने तयारी गरिरहेको जनाएको छ ।




