
बारा । बारामा ट्राफिक प्रहरीले सवारीसाधनमा प्रयोग हुने प्रेशर हर्नमाथि प्रतिबन्ध लगाएको छ। ध्वनिप्रदूषणका कारण बढ्दै गएका गुनासोलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले यस्तो कदम चालेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ र मातहतका प्रहरी इकाइहरूले ध्वनिप्रदूषण न्यूनिकरण अभियान सञ्चालन गरिरहेका छन्। अभियानको क्रममा सिमरा, जितपुर, अमलेखगञ्ज, पिलुवा, कलैया लगायतका स्थानमा सवारी साधनहरूको चेकजाँच गरिएको छ।
चेकजाँचका क्रममा ३५ वटा सवारी साधनबाट प्रेशर हर्न हटाउनुका साथै जथाभावी जडान गरिएको बत्तीहरू पनि निकालिएको प्रहरी कार्यालयले जानकारी दिएको छ।
ध्वनिप्रदूषणले स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै यस प्रकारको अभियान अझ प्रभावकारी रूपमा अगाडि बढाइने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीले सर्वसाधारणलाई पनि यस अभियानमा सहयोग गर्न आग्रह गरेको छ।





