वीरगन्ज, १० भदौ:समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगन्जमा मंगलबार प्रभातफेरी निकालेको छ । संगठनको चौथो स्थापना दिवसको अवसरमा वीरगन्जको घण्टाघर चाेकबाट शुरु भएको प्रभातफेरी माईस्थान, महावीरस्थान, आदर्शनगर घडिअर्वा हुँदै नगर परिक्रमा गरेर पुनः घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो।
संगठनका पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले पार्टी पत्रकारहरुको साथमा रहेको बताए । आफ्नो पार्टी प्रेस स्वतन्त्रताको पक्षधर रहेको बताउँदै उनले मिडिया विरोधी विद्येयक र कानुन संशोधन गर्नुपर्नेमा जोड दिए।नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले पछिल्लो समय पत्रकारितामा असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । प्रेस अभिव्यक्ति स्वतन्त्रताको विरोधमा राज्यले चालेका कदमको निन्दा गर्दै उनले सरकारले ल्याउन लागेको प्रेसविरोधी विद्येयक स्वीकार्य नहुने बताए । प्रेसमाथि निरन्तर प्रहार भइरहेको बताउँदै उनले मिडियामैत्री राज्य निर्माणका लागि सबै पत्रकार एकबद्ध हुनुको विकल्प नरहेको बताए।
कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले मिडियालाई दर्ता र नविकरण प्रशासन मातहतमा राख्ने प्रावधानप्रति असहमती व्यक्त गरेका थिए । साथै सूचना विभागमा हुने कार्य रोकिएको र प्रशासनबाट पनि काम नहुँदा पत्रकारहरु मारमा परेको वक्ताहरुको भनाई थियो।
कार्यक्रममा अवसमरा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान, मधेस प्रदेश अध्यक्ष मनोज पटेल, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्र, रेडियो वीरगन्ज, मधेश दृष्टि र टिभी वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुब साह, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, श्रमजिवी पत्रकार संघ पर्साका अध्यक्ष आरके पटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।




