
- २० वाणिज्य बैंकले साधारण निक्षेपको ब्याजदर घटाए, १५ ले एकवर्षे मुद्दती निक्षेपको ब्याजदर घटाए, चारवटाको मुद्दतीको ब्याजदर स्थिर, एउटाको बढ्यो
काठमाडौँ — साउनका लागि सबै वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले बुधबार प्रकाशन गरेको ब्याजदर सूचीअनुसार साउनका लागि २० वाणिज्य बैंकले साधारण निक्षेपको ब्याजदर घटाएका छन् भने १५ वटाले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । तर चार वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छनैन् । एउटा बैंकले भने मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।
नयाँ ब्याजदरअनुसार साउनका लागि वाणिज्य बैंकहरूमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर अधिकतम ५.६९८ र न्यूनतम ३.६०४ प्रतिशत कायम भएको छ । असारमा यस्तो ब्याजदर अधिकतम औसत ५.९४ र न्यूनतम ३.८९१ प्रतिशत छ ।
वाणिज्य बैंकहरूमा साधारण निक्षेपको औसत ब्याजदर अधिकतम ३.९०५ र न्यूनतम २.७७१ प्रतिशत कायम भएको छ । यही असारमा यस्तो ब्याजदर अधिकतम ४.३५३ र न्यूनतम ३.०११ प्रतिशत छ । यसरी निक्षेपको ब्याजदर घटेसँगै बैंक तथा वित्तीय संस्थाको आधार दर पनि घट्ने भएकाले ऋणको ब्याजदर पनि स्वतः घटेको छ ।
बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै मुद्दती निक्षेपको न्यूनतम दर साधारण बचतको अधिकतम ब्याजदरभन्दा कम छ । यस्तो अवस्थामा निक्षेपकर्ताले मुद्दतीभन्दा साधारण निक्षेपमा धेरै पैसा राख्न चाहन्छन् । बैंकमा पर्याप्त तरलता कायम रहेको अवस्थामा साउनका लागि २० वटै वाणिज्य बैंकले एकैपटक साधारण निक्षेपको ब्याजदर किन घटाए ? यसको मुख्य कारण राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको तल्लो सीमा घटाउनु हो ।
राष्ट्र बैंकले एकातिर करिडोरको तल्लो सीमालाई निक्षेप संकलनमा बैंक तथा वित्तीय संस्थालाई दिने ब्याजदरसँग जोडेको छ भने अर्कोतिर निक्षेप संकलनको ब्याजदरभन्दा निक्षेपको ब्याजदर कम बनाउन पाइँदैन । यसकारण यसअघि करिडोरको तल्लो सीमा वा निक्षेप संकलनको ब्याजदर सीमा ३ प्रतिशत थियो । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले करिडोरको तल्लो सीमा घटाएर २.७५ प्रतिशत कायम गरेको छ । यसरी करिडोरको तल्लो सीमाको दरसँग बराबर बनाउन बैंकहरूले साधारण निक्षेपको ब्याजदर घटाएको बैंकरहरू बताउँछन् ।
‘नीतिगत दर (करिडोरको तल्लो सीमा) नै २.७५ मा आएपछि बैंकहरूले त्यति नै बनाएका होलान् । तर मुद्दती निक्षेपको ब्याजदर धेरैले घटाएका छैनन्,’ नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले भने, ‘अहिले करिब १० खर्ब हाराहारीमा अधिक तरलता रहेकाले निक्षेपमा धेरै ब्याजदर दिन सक्ने अवस्था छैन ।’ विगतमा स्रोत (ऋण दिन मिल्ने रकम) कम हुँदा बैंकहरूले निक्षेपमा १३ प्रतिशत ब्याजदर दिएको र अहिले निक्षेप पर्याप्त रहेकाले घटेको उनले बताए ।
‘ब्याजदर बजारले निर्धारण गर्ने हो । तरलता पर्याप्त भएका बेला कम र अभाव रहेका बेला धेरै ब्याज दिन्छन्, यो स्वाभाविक हो । यसकारण यति धेरै पेनिक भइहाल्नुपर्ने अवस्था होइन,’ उनले थपे, ‘बिस्तारै कर्जा बढ्दै जाँदा फेरि निक्षेपको ब्याजदर पनि बढिहाल्छ । अहिले स्रोत चाहिएको छैन, यसकारण ब्याजदर घटाउनुको विकल्प छैन ।’
मौद्रिक नीतिमार्फत गरिएको व्यवस्था अझै कार्यान्वयनमा आएको छैन । उक्त व्यवस्था कार्यान्वयनमा आएपछि निक्षेपको ब्याजदर पुनः घट्नेछ । किनकि मौद्रिक नीतिमा गरिएका नयाँ व्यवस्था ब्याजदर घटाउन, कर्जा प्रवाह बढाउन र बैंकहरूको कर्जा प्रवाह क्षमता बढाउने खालको आएको छ । यसकारण एकैपटक धेरै कर्जा विस्तार हुने सम्भावना नरहेकाले आउँदा केही दिन/महिना ऋणको ब्याजदर पनि झनै घट्ने वित्तीय क्षेत्रका जानकार बताउँछन् ।
वित्तीय प्रणालीमा लामो समयदेखि अधिक तरलता भएपछि गत जेठमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.०९ प्रतिशतमा झरेको छ । विकास बैंकहरूको औसत आधार दर ८.२९ र वित्त कम्पनीहरूको ९.०२ प्रतिशत छ । २०८१ जेठमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.१७, विकास बैंकहरूको ९.९६ र वित्त कम्पनीहरूको ११.४६ प्रतिशत थियो ।
आधार दर बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर निर्धारण गर्ने महत्त्वपूर्ण आधार (बेस) हो । बैंकहरूले आधार दरभन्दा कममा ऋण दिन पाउँदैनन् । यसकारण आधार दरमा केही प्रतिशत प्रिमियम जोडेर बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर निर्धारण गर्ने हो । यसरी आधार दरमा थपिएको प्रिमियम ऋण अवधिभर परिवर्तन गर्न पाइँदैन । आधार दरमा घटबढ भयो भने परिवर्तन भएको दरमा सुरुमै तय गरिएको प्रिमियम जोडेर ऋणको ब्याजदर पनि थपघट हुन्छ । यसकारण अहिले ऋणको ब्याजदर त्यसै पनि एक अंक (१० प्रतिशत) भन्दा तल छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै ऋणको ब्याजदर पनि स्वतः घट्ने जानकार बताउँछन् ।
गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.२९, विकास बैंकहरूको ५.०२ र वित्त कम्पनीहरूको ६.०९ प्रतिशत छ । २०८१ जेठमा वाणिज्य बैंकको निक्षेपको भारित औसत ब्याजदर ६.१७, विकास बैंकहरूको ७.०७ र वित्त कम्पनीको ८.२८ प्रतिशत थियो ।
गत जेठमा वाणिज्य बैंकको कर्जाको भारित औसत ब्याजदर ७.९९, विकास बैंकको ९.४० र वित्त कम्पनीहरूको १०.२२ प्रतिशत छ । २०८१ जेठमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १०.१५, विकास बैंकहरूको ११.६३ र वित्त कम्पनीहरूको १२.८५ प्रतिशत थियो ।
चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ५ खर्ब १७ अर्ब ६० करोड (८ प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ५ खर्ब १४ अर्ब ५७ करोड (९ प्रतिशत) ले बढेको थियो । गएको ११ महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा ४ खर्ब ७ अर्ब ६२ करोड (८ प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब ४६ अर्ब ८० करोड (५.१ प्रतिशत) ले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गएको ११ महिना (साउनदेखि जेठसम्म) मा रेमिट्यान्समार्फत १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १५.५ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको जेठसम्ममा १३ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने वृद्धिदर १६.९ प्रतिशत थियो । रेमिट्यान्स बढेसँगै बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएको छ ।




