खानेपानीको समस्या समाधानका लागि सबै निकायलाई सहयोग गर्न मन्त्री यादवको आग्रह

वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवले पर्सा, बारा, रौतहटलगायत तराई–मधेसका जिल्लामा चापाकल सुकेर उत्पन्न खानेपानी सङ्कट समाधानका लागि सबै पक्षसँग सहयोग र समन्वयको आग्रह गरेका छन् ।

जलवायु परिवर्तनका कारण देखिएको खडेरीले पर्सा, बारा, रौतहट लगायतका जिल्लामा चापाकल सुक्दा जनजीवन प्रभावित भएको भन्दै मन्त्री यादवले सामाजिक सञ्जालमार्फत सहानुभूति प्रकट गर्नुका साथै समस्या समाधानका लागि सक्रिय पहल भइरहेको बताएका छन् ।

मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न प्रभावित वडा, टोल र घर–घरमा पुगेर स्थलगत अनुगमन गरिरहेका छन् । “यस प्राकृतिक विपत्तिमा पीडित नागरिकप्रति सहानुभूति प्रकट गर्दै म वीरगञ्जका प्रभावित क्षेत्रहरूको अनुगमन गरिरहेको छु,” उनले भने, “खानेपानी समस्याको तत्कालीन समाधानका लागि पर्सा, बारा र वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा हालसम्म २३७ भन्दा बढी डिप बोरिङ जडान गरिसकिएको छ । थप पहल जारी छ ।”

आगामी आर्थिक वर्षको सुरुआतसँगै खानेपानी समस्याको समाधानलाई तीव्र दिइने मन्त्री यादवले बताए । यसले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल राहत प्रदान गर्ने उनले विश्वास छ ।

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि वीरगञ्जमा एसियाली विकास बैंकको सहयोगमा चार अर्ब ५० करोड रुपैयाँ लागतको बृहत् खानेपानी आयोजना सञ्चालन भइरहेको मन्त्री यादवले जानकारी दिए । आयोजनाले खानेपानीको दिगो व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

मन्त्री यादवले कठिन परिस्थितिमा धैर्य र संयम अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेका छन् । उनले प्रदेश र स्थानीय सरकार, खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायहरूलाई सहकार्य र सहयोगका लागि अपिल गरेका छन् । “सबैको सहयोग र समन्वयले हामी यो समस्याको समाधान खोज्न सफल हुनेछौँ,” उनले भने ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः