
वीरगञ्ज । नेपाल सुनचाँदी व्यवसायी महासंघको आह्वानमा वीरगञ्जसहित देशभरका सुनचाँदी व्यवसायीहरूले अनिश्चितकालीन व्यवसाय बन्दको घोषणा गरेका छन्। सरकारद्वारा लागू गरिएको “अव्यावहारिक कर नीति” को विरोधमा व्यवसायीहरूले चरणबद्ध आन्दोलन गर्दै सम्पूर्ण कारोबार स्थगन गरेका हुन्।
संयुक्त महासंघद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ कि सरकारले सुनचाँदीलाई विलासिताको वस्तु ठानी त्यसमा कठोर कर नीति लागू गर्न खोज्दा व्यवसाय नै धराशायी हुने अवस्था आएको छ। विज्ञप्तिमा भनिएको छ, “हाम्रा गरगहना केवल सम्पत्ति होइन, धर्म, संस्कृति र इतिहाससँग जोडिएको पहिचान हो। सरकारले त्यसलाई अनदेखा गर्दै घोर आपत्तिजनक कर प्रणाली लागू गर्न खोजिरहेको छ।”
महासंघका अनुसार, सुनचाँदी व्यवसायमा करको भार अत्यधिक भएको, भ्याट प्रणालीले आम ग्राहक र व्यवसाय दुवैलाई अप्ठ्यारोमा पारेको र यस क्षेत्रका मजदुर, कारीगर र कर्मचारीहरूको रोजगारीसमेत जोखिममा परेको जनाइएको छ। खुला सिमानाको अवस्थाबीच भन्सार दरमा असमानताले गर्दा छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थिति सृजना भएको व्यवसायीहरूको तर्क छ।
महासंघले देशभरका व्यवसायीहरूलाई अनिश्चितकालीन बन्दमा ऐक्यबद्ध भएर सहभागी हुन आह्वान गरेको छ। महासंघका अनुसार अर्को सूचना जारी नभएसम्म देशभरका सबै सुनचाँदी पसलहरू बन्द रहनेछन्।
व्यवसायीहरूले सरकारसँग वार्ता र समाधानको ढोका खुला रहेको जनाउँदै आफ्नो आन्दोलनलाई थप सशक्त, प्रभावकारी र परिणाममुखी बनाउने चेतावनी दिएका छन्।




