
सिराहा । सिराहा जिल्लाको अर्नमा गाउँपालिका–१ मा एक युवकको घरअगाडि हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
शनिवार बिहान स्थानीय राम सेवक महराका अन्दाजी ३० वर्षीय छोरा अजय महराको शव घरअगाडि मृत अवस्थामा भेटिएको हो ।
प्रारम्भिक अनुसन्धान अनुसार अजय महरालाई कुटपिटपछि घिसारेर हत्या गरिएको आशङ्का गरिएको छ । मृतकको घाँटीमा लुगा बेरिएको अवस्थामा भेटिएको हुँदा घाँटी कसेर हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
घटनापछि सो क्षेत्रका स्थानीयवासी घटनास्थलमा भेला भएका छन् भने जिल्ला प्रहरी कार्यालय सिराहाबाट प्रहरी टोली पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ ।
सिराहा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र पासवानका अनुसार शवको प्रकृति र घटनास्थलको अवस्थाले हत्या भएको पुष्टि गरे पनि हत्याको कारण र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान जारी रहेको छ ।
घटनाले अर्नमा गाउँमा त्रास फैलिएको छ भने स्थानीयले हत्याको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । शव पोस्टमार्टमका लागि सिराहा अस्पताल लगिएको जनाइएको छ ।




