इजरायलबाट नेपाली फर्काउन के गर्दै छ परराष्ट्र मन्त्रालय ?

  • इरान-इजरायल युद्धका कारण अन्य देशहरूले आफ्ना नागरिक फिर्ता बोलाउँदा नेपालले भने विज्ञप्ति जारी गर्दै इजरायलमा रहेका नेपाली सुरक्षित रहेको जनाएको छ।
  • पूर्वराजदूत टंक कार्कीले नेपालले कूटनीतिक च्यानल प्रयोग गरेर नागरिकको सुरक्षा गर्नुपर्ने र तत्काल उद्धारको पहल गर्नुपर्ने बताएका छन्।
  • विज्ञका अनुसार, यो युद्ध लम्बिएमा विश्वको आर्थिक र सामाजिक सन्तुलन बिग्रिन सक्ने र खाडी मुलुकमा रहेका लाखौं नेपाली प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

काठमाडौँ । चर्किरहेको जारी इरान–इजरायल युद्धले विश्वव्यापी त्रास बढाएको छ । ती देशहरूबाट अन्य देशहरूले आ–आफ्ना नागरिक फिर्ता बोलाइरहेका छन् । कतिपयले धमाधमा लगिरहेका पनि छन् ।

युरोपेलीलगायत अन्य देशले इजरायलबाट आफ्ना नागरिक फिर्ता ल्याउन थालिसकेका छन् । स्लोभाकियाले आफ्ना नागरिक फिर्ता लगिसकेको छ भने छिमेकी देश भारतले पनि तेहरानबाट केही विद्यार्थीलाई उद्धार गरेको छ । यस्तै पोल्यान्डले पनि आफ्ना केही नागरिक घर ल्याएको छ ।

तर नेपाल भने विज्ञप्ति मात्र जारी गरेर बसेको छ । नेपालले अझै पनि आफ्ना नागरिकलाई त्यहीँ सुरक्षित रहन मात्र भनेको छ । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा पाँच हजार नेपाली नागरिक रहेका र सबै सुरक्षित स्थानमा रहेका दाबी गरिरहेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले भने, सुरक्षा गाइडलाइनलाई फलो गरेर नेपाली बसेका छन्, उनीहरूलाई अहिले फर्काउाने अवस्था छैन ।’

तर फर्काउनै परे पनि सरकारले त्यसबारे तयारी गर्ने उनले बताए । उनका अनुसार इरान र इजरायलमा रहेका नेपालीको विवरण संकलन गर्ने काम भइरहेको छ ।

इजारायलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरी त्यहाँ रहेका नेपालीलाई एउटा फारम भर्न भनेको छ । उक्त फारमका आधारमा को नेपाली कहाँ छन् भन्ने जानकारी प्राप्त हुने र फर्किन चाहनेलाई त्यसको व्यवस्था सरकारले गर्ने जनाइएको छ ।

कोही उतै बस्न चाहन्छ भने त्यहीअनुसार सुरक्षा प्रत्याभुति दिलाइने पनि बताइएको छ । ‘इजरायल र इरानमा रहेका नेपालीलाई उद्धार गर्ने प्रयोजनका लागि विवरण फारम’ भनी परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको छ ।

इजरायलस्थित स्थानीय सरकारको सम्पर्कमा आफू रहेको मन्त्रालयले जानकारी दिँदै आवश्यकताअनुसार व्यवस्थापन गरिने जनाएको छ ।

‘नेपाल गम्भीर भएन’ 

इरान–इजरायल द्वन्द्वलाई लिएर नेपाल गम्भीर नरहेको कतिपयको बुझाइ रहेको छ । यसअघि हमास र इजरायलबिच भएको युद्धमा १० जना नेपाली मारिएका थिए । विपिन्न जोशीको अझै पनि अत्तोपत्तो छैन । उनको रिहाइमा नेपाल असफल भइसकेको छ ।

जोशी बेपत्ता हुँदा पनि नेपाल नचेतेको विभिन्नस्तरबाट टिप्पणी भइरहेको छ । परराष्ट्रविज्ञ एवं पूर्वराजदूत टंक कार्की युद्धको भुमरीमा विश्व फस्दै जाँदा पनि नेपालले चासो नदिएको बताउँछन् ।

‘नेपालले समयमै आफ्नो कूटनीतिक च्यानल प्रयोग गरेर आफ्ना नागरिक सुरक्षा गर्नुपर्छ,’ कार्कीले भने, ‘जहाँ चर्को युद्ध चलिरहेको छ, त्यहाँ हजारौं नेपाली छन् तर नेपाल प्रेस नोट जारी गरेर नेपालीहरू सुरक्षित रहेको भनिरहेको छ,’ उनले सरकारको कामगराइप्रति चित्त दुखाए ।

इरान र इजरायलमा रहेका नेपालीमा सुरक्षा चुनौती थपिरहेकाले उनीहरूलाई तत्काल उद्धार गर्नुपर्ने उनको भनाइ थियो । तर राज्यले यसमा ध्यान दिन नसकेको उनले आरोप लगाए ।

इराज–इजरायल युद्धले विश्व नै प्रभावमा 

इरान–इजरायल युद्धले विश्व नै प्रभावमा परेको छ । दुई देशबिचको द्वन्द्व बढ्दै गएको छ । यी दुई देशलाई लिएर विभिन्न मुलुकहरू दुई कित्तामा बाँडिन थालेका छन् ।
‘यो समयमा रोक्न सकिएन भने यसले नराम्रो अवस्था सिर्जना गर्छ,’ कार्कीले भने, ‘यो युद्ध बढ्दै गयो विश्वकै आर्थिक तथा सामाजिक सन्तुलन बिग्रन सक्छ ।’

यो युद्धले इजरायल र इरानामा रहेका नेपाली मात्र नभई अन्य आसपासका देशहरूमा रहेका १५ देखि २० लाख प्रवासी नेपाली प्रभावित हुने उनले चेतावनी दिए ।
यो द्वन्द्वले त्यहाँ काम गरिरहेका लाखौँ नेपाली श्रमिकको सुरक्षा र रोजगारीमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले नेपाल वेलैमा सचेत हुनुपर्ने उनले सुझाए ।

श्रम तथा प्रवास जानकार डा.जीवन बानियाँ पनि यी दुई देशको द्वन्द्वले कतार, मलेसिया, साउदी, ओमानमा रहेका नेपाली पनि प्रभावित हुुने बताउँछन् । ‘कतारमा मात्र चार लाख नेपाली छन्, ओमानमा २० हजारजति छन्, अन्य खाडी मुलुकहरू जोड्दै जाने हो भने करिब १५ लाख नेपाली प्रत्यक्ष रूपमा प्रभावित हुन्छन् ।’

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः