अमेरिकाले युरोपबाट आफ्ना ३० सैन्य विमानहरू ओसापसार,आक्रमणको आशंका बढ्दै

एक उडान ट्रयाकिंग डाटा अनुसार पछिल्लो तीन दिनमा अमेरिकाले युरोपबाट आफ्ना कम्तिमा ३० सैन्य विमानहरू ओसापसार गरेको छ । यी विमानहरू अमेरिकी सैन्य ट्यांकर विमान हुन् । ती विमान लडाकू जेट र बमवर्षक विमानहरूलाई इन्धन आपूर्ति गर्न प्रयोग गरिन्छ ।

फ्लाइटरेडार २४ का अनुसार यी मध्ये कम्तिमा सातवटा केसी–१३५ प्रकारका जेट बिमान छन् । स्पेन, स्कटल्यान्ड र इङ्ल्यान्डमा रहेका अमेरिकी वायुसेना अड्डाहरूमा रोकिएका छन् ।

यी सैन्य विमानहरू सार्ने कार्य इजरायल र इरानबीच हालै भएको आक्रमण–प्रत्याक्रमणको बीचमा भएको हो ।  इजरायले शुक्रबारमा तेहरानको परमाणु कार्यक्रम ध्वस्त पार्ने उद्देश्यले आक्रमण गरेको दाबी गरेको थियो । अमेरिकाको यो सैन्य विमानहरू सार्ने कार्य सीधै इरान इजरायलसँग जोडिएको छ अथवा छैन भन्ने स्पष्ट छैन । तर, एक विज्ञले बीबीसीलाई बताएअनुसार यी ट्यांकर विमानहरूको उडान अत्यन्त असामान्य थियो ।

रुसी थिंक ट्यांक रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका वरिष्ठ विश्लेषक जस्टिन ब्रोन्कले यी तैनाथीहरूले अमेरिकाले आगामी हप्ताहरूमा यस क्षेत्रमा गहिरो युद्ध अभियानहरूलाई समर्थन गर्न आकस्मिक योजनाहरू बनाइरहेको संकेत दिने बताएका छन् ।बीबीसीले ट्रयाक गरेका सातवटा जेट विमानहरू अगाडि बढेका छन् । उडान ट्रयाककिंग डाटा अनुसार मंगलवार दिउँसो सम्ममा यी सिसिलीको पूर्वमा उडान भर्दै देखिएका थिए । ६ वटाको उडान गन्तव्य खुलाइएको थिएन भने एउटा ग्रीसको क्रेट टापुमा रोकिएको थियो ।

तर, आइरिस रक्षा बलका पूर्व प्रमुख भाइस एडमिरल मार्क मेलेटले यी गतिविधिहरू रणनीतिक अस्पष्टताको व्यापक नीतिको हिस्सा हुनसक्ने बताएका छन् । जसले इरानलाई आफ्नो परमाणु कार्यक्रम सम्बन्धी वार्तामा बाध्य बनाउन दबाब दिनसक्ने उनले बताएका छन् ।

इजरायलले शुक्रबार इरानी परमाणु केन्द्रमा आक्रमण गरेको थियो, जुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रम रोक्ने सम्झौता गर्न दिएको अन्तिम म्यादको एक दिनपछि थियो ।

यी जेट विमानहरूको सार्ने कार्य अमेरिकाले एउटा विमानवाहक जहाज यूएसएस निमित्ज्, दक्षिण चीन सागरबाट मध्यपूर्वतर्फ सारेको भन्ने समाचार आएलगत्तै भएको हो ।

समाचार संस्था रोयटर्सले भियतनामको हनोइस्थित अमेरिकी दूतावासले आकस्मिक आवश्यकता भन्दै भियतनाममा सो जहाज प्रयोग गरिने पूर्वनिर्धारित कार्यक्रम रद्द भएको भनेको थियो ।

जहाज ट्रयाकिंग वेबसाइट म्यारिन ट्राफिकका अनुसार यूएसएस निमित्ज्को अन्तिम स्थान मंगलबार बिहान मलाक्का स्ट्रेटमा सिंगापुरतर्फ जाँदै देखिएको थियो । निमित्ज्सँग लडाकू जेटहरूको एक दल र धेरै गाइडेड मिसाइल विध्वंसक जहाजहरू छन् ।

रोयटर्सलाई मंगलबार तीन रक्षा अधिकारीहरूले बताए अनुसार अमेरिकाले एफ– १६, एफ– २२ र एफ– ३५ लडाकू जेटहरू मध्यपूर्वमा रहेका आफ्ना अड्डाहरूमा सारेको छ । केही दिनदेखि युरोपमा सारिएका यी ट्यांकर विमानहरूले यी जेटहरूलाई इन्धन आपूर्ति गर्न मद्दत गर्न सक्छन् ।

मंगलबार, उपराष्ट्रपति जेडी भेन्सले अमेरिकाले इजरायलको अभियानलाई समर्थन गर्न हस्तक्षेप गर्नसक्ने संकेत गरेका थिए । उनले सोसल मिडियामा ट्रम्पले इरानको परमाणु कार्यक्रम समाप्त गर्न थप कारबाही गर्न आवश्यक देख्नसक्ने लेखेका थिए ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः