कपाल झर्ने समस्या अहिलेको पुस्तामा बढ्दै गैरहेको छ । कपाल झर्नु यो एक प्राकृतिक प्रक्रिया हो । बाक्लो र चम्किलो कपाल राख्न सबैलाई रुचि लाग्छ । मानिसलाई आकर्षित बनाउनका साथै पहिचान बनाउनमासमेत कपालले मद्धत पुर्याएको हुन्छ । बढ्दो तनाव, भिटामिनको बढी प्रयोग, थरीथरीका तेल लगायतले कपाल झर्ने समस्या देखिन्छ ।
विज्ञहरूका अनुसार एक दिनमा १०० वटा कपाल झर्नुलाई पनि सामान्य मान्न थालेका छन् । किनभने आजको जीवनशैली र खानपान दुवैले कपाल झर्ने समस्या बढाएको छ । कपाल झर्ने समस्या वंशाणुगत पनि हुन्छ । कपाल झर्ने समस्याबारे सिभिल सर्भिस अस्पतालका छाला रोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीसँग गरिएको कुराकानीको अंश:
कपाल झर्नुको मुख्य समस्या के हो ?
कपाल झर्नुमा विभिन्न कारणहरु हुन्छन् । कुनै पनि सिजनहरुमा डेङ्गीको प्रभाव बढी देखिनु अथवा वातावरणको कारणले अनि सुख्खापना बढी हुनुको कारणले बढी कपाल झरेको देखिन्छ । जाडो मौसमको समयमा कपाल टुक्रिने अझ भनौं कोभिड लागेपछि त्यसको असरले पनि एक खालको कपाल झराईको समस्या रहेको पाइन्छ ।
पोषक तत्वको कमी हुनुका साथै रक्तसञ्चारमा समस्या भएका कारणले कपाल झर्छ भने अर्को कारण टाउकोमा सही मात्रामा अक्सिजन नपुगेर पनि हो । शरीरमा कुनै पनि पोषक तत्वको कमी हुन्छ भने कपाल झर्ने प्रक्रिया तीव्र हुने गर्छ ।
एकैपटकमा सबै झर्ने हुन्छ कि विस्तारै झर्छ ?
तालुपना वंशाणुगत हुने गर्छ । हार्मेनको कारणले पनि कपाल तालु हुने गर्छ । महिलाहरुकै कुरा गर्नुपर्दा ‘एन्ड्रोजेनेटिक एलोपेसिया’को कारण कपाल झर्छ । साधारण भासामा भन्दा टेस्टेड्रोन भन्ने हार्मोनको कारण मानिसमा कपाल झर्ने समस्या देखिन्छ । बिचको भागबाट पातलिँदै जाने कारण पनि वंशाणुगत हुने हुन्छ । अर्को भनेको कपाल गोलोगोलो भएर झर्ने समस्या ‘एलोपेसिया अरेटा’ हुँदा हुन्छ । यो भनेको टाउकोको ठाउँ–ठाउँमा खाली हुने गरी कपाल झर्ने गर्छ ।
कपालको जरालाई कमजोर बनाउँछ झर्न थालेपछि त्यस ठाउँमा सेतो दाग जस्तो चक्र बन्ने गर्छ । यसको उपचार भनेको ‘स्टोरोइड’ नामको खोप लगाउनाले कम हुँदै जान्छ ।
कति मात्रामा कपाल झर्दा असामान्य मानिन्छ ?
प्राय शरीरमा ८० देखि १०० वटा कपाल झरिरहेको हुन्छ । कपाल झर्नु सामान्य भन्ने सोच्नुपर्छ । कपाल झर्ने समस्या छ भने नजिकको छाला रोग विशेषज्ञकहाँ जानुपर्छ । किन र के कारणले जान्न अति आवश्यक हुन्छ । मानिसको शरीरमा आइरनको कमी रहने गर्दछ । जसका कारण कपाल झर्ने सम्भावना रहन्छ । आइरनको कमीले कपाल झर्ने समस्याका अतिरिक्त टाउको दुख्ने, आँखा धमिलो हुने लगायतका समस्याहरु देखा पर्न सक्छन् ।
कपाल नबढ्ने समस्यालाई हामी ‘टेलोजन’ भन्ने गर्दछौं । यो चरणमा धेरै लामो समयसम्म रहन सक्छ, दुई देखि छ महिना सम्म । जसले कपाल कमजोर बनाउँछ र पूर्ण रूपमा बढ्न बन्द हुन्छ । ‘एनेगन’ यो वृद्धिको पहिलो चरण हो जुन न्यूनतम दुई, औसत करिब ८ वर्षसम्म रहन्छ ।
तेल लगाउँदा र पानीको कारणलेसमेत झर्ने गर्छ भनिन्छ, यो खासमा के हो ?
सामान्यत: तेलहरु लगाउँदा त्यस्तो समस्या भने हुँदैन । नरिवल, बदाम, तीलको तेल कपालका लागि राम्रा हुन्छन् । त्यस्तै तोरी तथा ओलिभ तेल कपालमा तताएर लगाउँदा राम्रो हुन्छ । फुस्रो, सुख्खा कपालका लागि तेल लगाउँदा राम्रो तर धेरै घोटेर लगाउनु हुँदैन । शरीरमा भिटामिन ‘ई’ को कमी भएको खण्डमा भने लामो समयसम्म तेल लगाएर राख्दा कपाल झर्ने समस्या बढ्ने हुन्छ । तातो पानीले नुहाउँदा वा फरक–फरक किसिमका स्याम्पु लगाउँदा पनि कपाल झर्न सक्छ ।
यसको रोकथाम कसरी गर्न सकिन्छ ?
कपालको रोकथाम भन्दा पनि यसलाई हेरचाह गर्नु प्रमुख कुरा हो । पर्याप्त मात्रामा पानी पिउने, कपाल बलियो बनाउन वा झर्न नदिन सातामा दुई पटक कपालमा अमला, बदाम, जैतुन, नरिवल, तोरीको तेल लगाउने, मद्यपान तथा धूम्रपानको सेवन कम नगर्ने हो भने कपाल झर्ने समस्यालाई कम गर्न सकिन्छ । चिसो कपालमा ठूलो काँइयोले कोर्ने र सुख्खा कपालमा ब्रसको प्रयोग उपयुक्त हुन्छ । अत्यधिक मात्रामा ड्रायर प्रयोग गर्दा कपाल ड्यामेज भएर झर्छ । कलरिङ गर्दा ध्यान पुर्याउन आवश्यक हुन्छ ।
डर्म्याटोलोजिस्ट डा. प्रज्जवल पुडासैनीसँगको कुराकानीमा आधारित




