कहिलेकाँहि हामीलाई बिहान उठ्नेबित्तिकै थकान महशुस हुन्छ । रातभर सुतेर बिहान उठ्दा त शरीरमा उमंग हुनुपर्ने हो तर अकस्मात थकान महशुस हुन्छ ।
राति निद्रामा खराबी आएको कारण यस्तो भएको मानिसहरु सोच्छन् । यति मात्र होइन, यसका अन्य कारणहरु पनि छन् । यस्तो समस्याले दिनभर कमजोर बनाउँछ र शरीरमा ऊर्जा महशुस हुँदैन ।
किन हुन्छ त यस्तो महशुस । यसबारे निम्न चार कारणहरु हुन सक्छन् ।
एनीमिया (रगतको कमी)
शरीरमा रगतको कमी हुँदा बिहान उठ्नेबित्तिकै थकान र कमजोरीको महशुस हुनसक्छ । शरीरमा जब रातो रक्तकोषिका वा हेमोग्लोबिनको कमी हुन्छ तब शरीरको अक्सिजनमा असर पर्छ । जसकारण थकान, चक्कर लाग्ने, कमजोरी, स्वास लिन समस्या हुनेजस्ता प्रभाव देखिन्छन् ।
थाइराइड
थाइराइडको कारण पनि बिहान बिहानै थकानको महशुस हुन सक्छ । हाइपोथाइराइडिज्मका कारण शरीरको मेटाबोलिज्म सुस्त हुन पुग्छ र ऊर्जा प्राप्ति गर्न कठिन हुन्छ । यसकारण दिनभर थकान, मुड स्विंग्स र स्मरणशक्तिमा पनि कमीको महशुस हुनथाल्छ ।
डायबिटीज (मधुमेह)
डायबिटीज अर्थात मधुमेह पनि बिहानै बिहानै कमजोरी महशुस हुने एक कारण हो । मधुमेहमा शरीरमा ग्लुकोजको सन्तुलन खराब हुन्छ । जसकारण कोषिकामा ऊर्जा जाँदैन । यसकारण थकान, झिँझो लाग्ने, रिसाउन मन लाग्ने र कमजोर महशुस हुन्छ ।
स्लीप एपनिया
यो निद्रासँग जोडिएको एक गम्भिर बिरामी हो । यो रोग भएका मानिसलाई निद्रामा स्वास पटक–पटक रोकिने हुनसक्छ । यस्तो हुँदा राम्रो र गहिरो निद्रामा बाधा उत्पन्न हुन्छ र बिहानै थकान महशुस हुन्छ ।




