हरेक वर्ष श्रम बजारमा आउने जनशक्तिका लागि रोजगारी तथा आयमूलक कामको अवसर सिर्जना गर्नु राष्ट्रका लागि एक प्रमुख चुनौती बन्दै गएको छ । मुलुकभित्र यस्ता अवसर सीमित भएको र आर्थिक उन्नति सोचेअनुरूप हुन नसकेका कारण ठूलो संख्यामा नेपाली युवा विभिन्न गन्तव्य मुलुकमा रोजगारीका लागि जाने गरेका छन् ।
मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन तथा नागरिक समाजका अगुवा पिताम्बर ढकालले भने, ‘अहिले कर्णालीमा पनि रोजगारका लागि विदेश जाने संस्कार निकै बढेको छ । अध्ययनका लागि भनेर विभिन्न मुलुक जाने युवा पनि आफ्नो ठाउँ फर्किएर भनेको जस्तो रोजगारी प्राप्त गर्न वा आय आर्जन गर्न सकिँदैन भन्ने मानसिकताका कारण उतै पलायन हुने गरेका छन् ।’
लामो समयसम्म मुलुकमा द्वन्द्व र राजनीतिक अस्थिरता भयो । तत्कालीन द्वन्द्वको मारमा कर्णाली पनि अछुतो रहेन । अझ तत्कालीन माओवादीले सुरु गरेको १० वर्षे सशस्त्र द्वन्द्वका बेला कर्णालीमा विद्यालय पनि प्रभावित भए । जति बेला यहाँको अधिकांश बालबालिका अध्ययनको अवसरबाट पनि बञ्चित भए । बुर्जुवा शिक्षा पढ्न हुँदैन भनेर माओवादीले थालेको अभियानले गाउँका धेरै बालबालिकाले विद्यालय नै छाडे । जसका कारण राम्रो पढेर रोजगारी गर्ने अवसरबाट पनि युवा जनशक्ति बञ्चित भयो ।
यसबाहेक आफ्नो ठाँउमा लगानी गरेर आयआर्जन गर्न सकिन्छ भन्ने विश्वासको वातावरण नहुनु, समाजमा श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास नहुनु, न्यून ज्याला वा बेतन र महँगो जीवनशैली, गरिबीबाट मुक्त हुन छिटो धन कमाउने लालसा बढ्दै जानु, कृषि पेसाप्रतिको आकर्षण घट्दै जानु, विश्वव्यापीकरणको प्रभाव, अन्तर्राष्ट्रिय श्रमबजारमा नेपाली कामदारको माग बढ्नु, विदेशबाट फर्केकाहरूको जीवनस्तर र आर्थिक उन्नतिले अन्य मानिसमा विदेशप्रति मोह बढ्नु, निजी क्षेत्रहरूको उल्लेखनीय विकास र रोजगारी सिर्जनामा संलग्नता कम, प्रविधिमा आएको तीव्र विकासले वैदेशिक जानकारी र आकर्षण वृद्धि हुनु जस्ता कारण पनि यहाँका युवाहरू बिदेसिन थालेको ढकाल बताउँछन् ।
विकासको राम्रो सम्भावना हुँदाहुँदै पनि रोजगारीको अवसरमा कमी भएकाले कामका लागि वैदेशिक रोजगारीमा जानु नेपालीको बाध्यता हो । बेरोजगारीमा कमी ल्याउन र गरिबी घटाउन सहयोग पु¥याएकाले वैदेशिक रोजगारीलाई तत्काल रोजगारीको वैकल्पिक माध्यमको रूपमा लिए पनि यसलाई क्रमशः घटाउँदै लगेर मुलुकभित्रै युवा जनशक्तिको उपयोग गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ । समाजसेवी युवा जगतजंग विष्टले भने, ‘मुलुकले श्रम सम्झौता गरी कामदार पठाएका मुलुकमा नेपाली कामदार ठगिने, शोषणमा पर्ने स्थिति समाप्त गर्दै वैदेशिक रोजगारीमा गुणात्मकता बढाउनुपर्छ । मुलुकमै काम गरेर खाने अवस्था र सबै कामको सम्मान गर्ने धारणा जनमानसमा विकास गर्नुपर्छ ।’




