रौतहट जिल्लाको कटहरिया नगरपालिका–२ जमुनिया टोलमा दिउँसोको समयमा नै खुलेआम जुवा (कौडा) खेलिने गरिएको खुलासा भएको छ। स्थानीय स्कुलको उत्तरपट्टी रहेको बाँसघारी नजिकै दैनिक रूपमा जुवा खेलाउने कार्य सञ्चालन भइरहेको छ।
स्थानीय बासिन्दाका अनुसार जुवाको संचालनमा प्रहरीको मिलेमतो देखिएको छ। जुवा खेल्नेहरूकै दाबी अनुसार, जुवा सञ्चालकले प्रहरी चौकी जगलसैयामा कार्यरत नेपाल प्रहरीलाई दैनिक २ हजार रुपैयाँ र सशस्त्र प्रहरी बलको सुरक्षा बेस जगलसैयालाई दैनिक १ हजार रुपैयाँका दरले रकम बुझाउँदै आएका छन्। सोही अनुसार, नेपाल प्रहरीलाई मासिक ६० हजार र सशस्त्र प्रहरीलाई ३० हजार रुपैयाँ जुवाडेहरूबाट नै प्रदान गरिने गरेको हो।
हाल जगलसैया प्रहरी चौकीमा असई तवरज आलम र सशस्त्र बेसमा सई भविन्द्र राज पाण्डे प्रमुखको रूपमा कार्यरत छन्।
स्थानीयले दिनदहाडै चल्ने यस्तो अवैध गतिविधिमा प्रहरी स्वयंको संलग्नता रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यद्यपि सम्बन्धित निकायले यसबारे कुनै आधिकारिक प्रतिक्रिया जनाएका छैनन्।




