वीरगंज ६,जेठ ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युद्धग्रस्त गाजा क्षेत्रमा करिब २० लाख मानिस भोकमरीको सामना गरिरहेको चेतावनी दिएको छ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयससले हिजो विश्वभरबाट आएका डब्ल्यूएचओ प्रतिनिधिहरूको बैठकलाई सम्बोधन गर्दै इजरायलको नाकाबन्दी र मानवीय सहायता पुर्याउने पूर्वाधारको अभावले गाजाको पहिल्यै कमजोर स्वास्थ्य प्रणालीलाई गम्भीर असर पारेको जानकारी दिएका हुन्।
उनका अनुसार, गाजामा सामान्य उपचारले निको पार्न सकिने रोगहरूबाट पनि मानिसहरू ज्यान गुमाइरहेका छन्, तर यस्ता उपचारका लागि आवश्यक औषधिहरू सीमामा अड्किएका कारण प्रयोगमा ल्याउन सकिएको छैन।
सन् २०२३ देखि अहिलेसम्म डब्ल्यूएचओले गाजाबाट ७,३०० भन्दा बढी बिरामीलाई बाहिर लगेर उपचार गराएको छ। तर अझै पनि १० हजारभन्दा बढी बिरामीलाई गाजाबाट बाहिर लैजाने आवश्यकता रहेको डब्ल्यूएचओले जनाएको छ।
यसैबीच, हिजो इजरायलले आवश्यक मात्रामा खाद्य सामग्री गाजामा प्रवेश गर्न दिने अनुमति दिएको जनाएको छ। यो निर्णयसँगै १० हप्तादेखिको कडा नाकाबन्दीपछि उत्पन्न भएको भोकमरीको संकट केही हदसम्म न्यून हुने अपेक्षा गरिएको छ।




