वीरगंज ६, जेठ – सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित हुलाकी सडक खण्डबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।
बुधबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा पाँच सय रुपैयाँ दरका ४८ थान नक्कली नोट फेला परेको हो। बरामद नोटको कुल रकम २४ हजार रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–६ का २१ वर्षीय मुकेश कुमार साह र पछाडि सवार हरिपुर्वा नगरपालिका–४ डुमरिया निवासी २३ वर्षीय सरोज पण्डित रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई विशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक (सई) मेथुल यादवको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
हाल उनीहरूलाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रहरीले घटनासँग संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र पारिएको जानकारी दिएको छ।




