रौतहट । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा एक अन्दाजी ३५ वर्षीय युवकको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ। मृतकको सनाखत अझै नभएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
प्रहरीका अनुसार, गएराति करिब १० बजे चन्द्रपुर–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ती युवक घाइते अवस्थामा फेला परेका थिए। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईका अनुसार प्रहरी गस्ती टोलीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि स्थानीय अस्पताल पुर्याएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न सवारीसाधनको यकिन पहिचान हुन सकेको छैन। राजमार्गमा गुडिरहेको कुनै सवारीबाट लडेर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
हाल मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको डीएसपी राईले जानकारी दिएका छन्।




