अमेरिकाले साउदी अरेबियालाई करिब १४२ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री गर्न सहमति जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाडी राष्ट्र भ्रमणका क्रममा उक्त सम्झौता भएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले मंगलबार साउदी भ्रमणका क्रममा सम्झौतामा हस्ताक्षर गरेका हुन्। उनी हाल साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा छन्।
सम्झौताअनुसार अमेरिका साउदी अरेबियालाई मिसाइल प्रणाली, क्षेप्यास्त्र, लडाकु विमान, समुद्री सुरक्षासम्बन्धी उपकरण लगायतका हतियारहरू उपलब्ध गराउनेछ।
“यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो रक्षा सम्झौता हो, जसले दुवै मुलुकबीचको साझेदारीलाई थप सुदृढ बनाउनेछ,” ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
रोयटर्सका अनुसार सम्झौतामा लकहिड मार्टिन कम्पनीका सी-१३० परिवहन विमान, विभिन्न प्रकारका मिसाइल र रडार प्रणाली समावेश हुने अनुमान गरिएको छ। तर, अमेरिकी प्रशासनले यकिन रूपमा कुन-कुन हतियार दिने भन्ने विवरण सार्वजनिक गरेको छैन।
साउदीले लामो समयदेखि एफ-३५ लडाकु विमान खरिदमा चासो देखाउँदै आएको छ। तर, हालको सम्झौतामा उक्त विमान समावेश छ वा छैन भन्ने पुष्टि भएको छैन।
सूत्रहरूका अनुसार एफ-३५ सम्बन्धी छलफल बैठकमा भएको भए पनि वाशिङ्टनले स्पष्ट निर्णय भने दिएको छैन। इसराइलले उक्त विमान विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको छ। यदि साउदीले एफ-३५ प्राप्त गरेमा, इसराइलपछि मध्यपूर्वमा सो आधुनिक लडाकु विमान चलाउने दोस्रो देश बन्नेछ।
साउदी अरेबिया अमेरिकी हतियारको प्रमुख ग्राहक मानिन्छ। सन् २०१७ मा पनि ट्रम्प प्रशासनले साउदीलाई ११० अर्ब डलर बराबरको हतियार बिक्री प्रस्ताव गरेको थियो। रोयटर्सका अनुसार सन् २०१८ सम्ममा करीब १४.५ अर्ब डलर मूल्य बराबरको हतियार बिक्री भइसकेको थियो।




