वीरगञ्ज । भारतको ओडिशा राज्यको भुवनेश्वरस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अर्की नेपाली विद्यार्थी मृत भेटिएकी छन् । प्राथमिक जानकारीअनुसार विद्यार्थीले आत्महत्या गरेकी हुन् ।
प्रारम्भिक जानकारीअनुसार मृतक वीरगञ्ज निवासी प्रथम वर्षमा बीटेक सीएसइमा अध्ययनरत १९ वर्षीय प्रिसा साह हुन् । भुवनेश्वर प्रहरीले साहको मृत्युको पुष्टि गरे पनि थप विवरण सार्वजनिक गरेको छैन । स्थानीय सञ्चारमाध्यमहरूले पनि घटनाको पुष्टि गरेका छन् ।
प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी आफ्नो कोठामा झुन्डिएर मृत्यु भएको पुष्टि गरे पनि विस्तृत विवरणहरू उपलब्ध गराएका छैनन् । तर, त्यहाँ अध्ययनरत विद्यार्थीहरूका अनुसार, साह वीरगञ्जको भिसुवा निवासी हुन् । उनी प्रथम वर्ष बीटेक सीएसइमा अध्ययनरत थिइन् । केही दिन अगाडि मात्रै उनले वीरगञ्जमा आफ्नो साथीसँग कुराकानी गर्दै परीक्षा चलिरहेको र सकिएपछि वीरगञ्ज आउने बताएकी थिइन् ।
“केही दिन अगाडि मात्रै मैले कुरा गरेको थिएँ,” उनकी एक जना साथीले यात्रा डेलीसँग भनिन्, “परीक्षा सकिएपछि म वीरगञ्ज आउँदा भेट्छु पनि भनेकी थिइन् । उसको मृत्यु भएको भन्ने कुरा मलाई विश्वास नै लागिरहेको छैन ।”
घटना किटमा नेपाली विद्यार्थीको मृत्युको पहिलो घटना होइन । गत फागुन ४ मा २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत फेला परेकी थिइन् । उनले मानसिक दुर्व्यवहार र ब्ल्याक मेलको सामना गरेको भन्दै दुई पटक कलेज प्रशासनमा उजुरी गरेकी थिइन् । तर, प्रशासनले उजुरीलाई गम्भीरतापूर्वक नलिएको र आवश्यक कदम नचालेको आरोप छ। अन्ततः प्रकृतिले आत्महत्याको बाटो रोजिन् ।
प्रकृतिको मृत्युपछि नेपाली विद्यार्थीले न्यायको माग गर्दै क्याम्पसमा प्रदर्शन गरेका थिए । तर, कलेज प्रशासनले प्रदर्शन दबाउन सुरक्षा गार्डमार्फत विद्यार्थीमाथि कुटपिट गरेको र होस्टेलबाट निष्कासन गर्न निर्देशन दिएको थियो । यसले क्याम्पसमा तनावको स्थिति सिर्जना भएको थियो ।
किटमा नेपाली विद्यार्थीको लगातार मृत्यु र प्रशासनको उदासीनताले गम्भीर प्रश्न उठाएको छ । सामाजिक सञ्जाल र विभिन्न मिडियामा नेपाली विद्यार्थीले क्याम्पसमा असुरक्षित महसुस गरेको गुनासो व्यक्त गरेका छन् । विशेष गरी, मानसिक स्वास्थ्य र उत्पीडनका मुद्दामा प्रशासनको ढिलासुस्तीले विद्यार्थीमा निराशा बढेको छ ।
प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि पठाएको र घटनाको अनुसन्धान गरिरहेको पनि भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर, मृत्युको कारण आत्महत्या हो वा अन्य कुनै परिस्थिति हो भन्ने स्पष्ट भइसकेको छैन । मृतकको परिवारसँग सम्पर्क र उनीहरूको बयानले घटनाको थप रहस्य खोल्ने अपेक्षा गरिएको छ ।
नेपाली विद्यार्थीहरूले क्याम्पसमा सुरक्षित वातावरण, मानसिक स्वास्थ्य सेवाको पहुँच र उत्पीडनविरुद्ध कडा नीति लागू गर्न माग गरेका छन् । प्रकृति लम्सालको घटनापछि उठेका मागहरू अझै सम्बोधन नभएको भन्दै विद्यार्थीहरूले प्रशासनविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।




