भन्सार छलेको आरोपमा वीरगञ्जको आरएन इन्टरप्राइजेजलाई ७० लाख रुपैयाँ जरिवाना

वीरगञ्ज । वीरगञ्जस्थित आरएन इन्टरप्राइजेज फर्मले भारतबाट आयात गरेको मालसामानमा परिमाण लुकाई भन्सार राजस्व छल्ने प्रयास गरेको फेला परेको छ । फर्मले झन्डै ३ लाख रुपैयाँ बराबरको भन्सार शुल्क बचाउन खोज्दा ७० लाख रुपैयाँभन्दा बढी जरिवाना तिर्नु परेको छ ।

भन्सार कार्यालय वीरगञ्ज एकीकृत जाँच चौकी (आईसीपी) का अनुसार, वैशाख ३ गते आरएन इन्टरप्राइजेजले भारतबाट जिरा आयात गर्दा दुई वटा भन्सार प्रज्ञापन पत्र पेस गरेको थियो । तीमध्ये एउटा प्रज्ञापन पत्रमा उल्लेख गरिएको तिन सय बोरा अर्थात् ९ हजार किलो जिराको परिमाण सही देखिए पनि अर्को प्रज्ञापन पत्रमा भने गडबडी भेटिएको हो ।

दोस्रो प्रज्ञापन पत्रमा ५४० बोराको घोषणा भए पनि जाँचका क्रममा गाडीमा ७ सय बोरा जिरा फेला परेको भन्सार स्रोतले जनाएको छ । घोषित परिमाणभन्दा १ सय ४० बोरा अर्थात् ४ हजार २ सय किलो बढी जिरा भेटिएपछि भन्सारले भन्सार ऐनको दफा ५७ बमोजिम जरिवाना गरेको हो ।

भन्सारका सूचना अधिकारी अमित तिवारीका अनुसार जाँच पास भएर बाहिरिन लागेको गाडीमा असामान्य परिमाण भेटिएपछि गेटबाट फर्काएर पुनः परीक्षण गरिएको थियो । परीक्षणमा परिमाण फरक देखिएपछि जरिवाना प्रक्रिया अघि बढाइएको हो ।

भन्सारले आयात–निर्यात प्रक्रिया छिटो बनाउन हरियो, पहेँलो र रातो लेन प्रणाली अपनाउँदै आएको छ । तर, व्यापारीहरूले परिमाण लुकाउने प्रवृत्ति बढेपछि भन्सार प्रशासनले पुनः परीक्षण कडाइका साथ अघि बढाएको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए ।

उनले भने, “दैनिक जाँच पास भएका गाडीमध्ये केहीलाई नमुना आधारमा पुनः परीक्षण गर्दा यस्तो गडबडी भेटिएको हो । राजस्व चुहावट रोक्न अब जाँच प्रक्रिया अझ कडाइ गरिन्छ ।”

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः