घरमै ढल्यो आरसीबी

Highlights

  • एक समय आरसीबीको बलिङको ढुकढुकी रहेका सिराजले गुजरातलाई विजय दिलाउने क्रममा कसिलो बलिङ गरे

लखनउ — पहिलो दुई खेलमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई पराजित गरी शीर्ष स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार घरेलु मैदानमै पराजित भएको छ ।

टोलीलाई गुजरात टाइटन्सले सजिलै ८ विकेटले पराजित गर्‍यो ।

एक समय आरसीबीको बलिङको ढुकढुकी रहेका मोहम्मद सिराजले ३ विकेट लिएपछि गुजरातलाई घरेलु टोलीलाई नियन्त्रणमा राखेको थियो । टस हारेर ब्याटिङमा निम्तो पाएको आरसीबीले ८ विकेट गुमाई १ सय ६९ रनमात्र बनाउन सक्यो । जोस बटलर (तस्बिरमा) ले अविजित ७३ रन बनाएपछि गुजरातले १३ बल अगाडि नै लक्ष्य पूरा गर्‍यो ।

सिजनको पहिलो हारपछि आरसीबी नेट रेन रेटमा पछाडि पर्दै तेस्रो स्थानमा झरेको छ । पहिलो दुई खेल जितको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स पहिलो दुई स्थानमा छ । ३ खेलमा दोस्रो विजय हात पारेको गुजरात चौथो स्थानमा उक्लेको छ ।

कागिसो रबाडा व्यक्तिगत कारण खेल्न नसक्ने भएपछि उनको स्थानमा आएका अर्शाद खानले विराट कोहलीलाई ७ रनमा आउट गरी आरसीबीलाई ठूलो झट्का दिएका थिए । सिराजले पावर प्लेमै देवदत्त पाडिकल (४) र ओपनर फिल सल्ट (१४) लाई आउट गरेपछि आरसीबी खेलमा उठ्नै सकेन । कप्तान रजत पटिदारलाई पनि इशान्त शर्माले १२ रनमा एलबीडब्लू आउट गरे ।

विगतमा सिराजले विकेट लिदा उत्साहित हुने आरसीबीका समर्थकहरू बुधबार भने उनले आफ्नो टोलीका महत्वपूर्ण विकेट लिएपछि स्तब्ध हुन पुगेका थिए । आईपीएलको १८ औं संस्करणमा आईपुग्दा कहिल्यै उपाधि जित्न नसकेको आरसीबीले यसपटक भने पहिलो दुई महत्वपूर्ण जित हात पारेको थियो । तर यस सिजनमा पहिलो पटक घरेलु मैदानमा खेलेको आरसीबीले ठुलो समर्थकका अगाडि निराशाजनक प्रदर्शन गरेको थियो ।

लाएम लिभिङस्टोनले ४० बलमा १ चौका र ५ छक्का प्रहार गरी ५४, जितेश शर्माले २१ बल खेली ५ चौका र १ छक्का प्रहार गरी ३३ रन बनाए । इनिङ्सको अन्तिम बलमा आउट भएका टिम डेबिडले १८ बल खेली ३ चौका र २ छक्का प्रहार गरी ३२ रन बनाए । लिभिङस्टोनको पनि विकेट लिएका प्लेयर अफ द म्याच सिराजले ४ ओभरमा १९ रनमात्र खर्चेर ३ विकेट लिए । साई किशोरले ४ ओभरमा २२ रन खर्चेर २ तथा अर्शाद र इशान्तसहित प्रसिद्ध कृष्णले १–१ विकेट लिए ।

जबाफमा आएको गुजरातबाट बटलरले तेस्रो खेलमा दोस्रो पटक अर्धशतक बनाए । आरसीबीको इनिङ्समा बटलरले सुरुआतमै सल्टको नियमीत क्याच छाड्न पुगेका थिए । तर त्यो गुजरातलाई खासै महङ्गो परेन । बटलरले ३९ बलको इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे ।

कप्तान शुबमन गिल १४ बलमा १४ रन बनाई भुवनेश कुमारको बलमा आउट भएपछि बटलर र साई सुदर्शनले दोस्रो विकेटमा ७५ रनको साझेदारी गरे । सुदर्शनले ३६ बल खेली ७ चौका र १ छक्कासहित ४९ रन बनाई जेसल हेजलउडको बलमा आउट भए । बटलरसँगै अविजित रहेका ‘इमप्याक्ट प्लेयर’ सेरफन रदरफोर्डले १८ बल खेली १ चौका र ३ छक्का प्रहार गरी ३० रन बनाए ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः