
मुम्बई — अश्वनी कुमारले आफ्नो ‘डेब्यु’ मा सनसनी प्रदर्शन गरेपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यस सिजनमा पहिलो जित हात पारेको छ । अश्वनीको ४ विकेटको प्रभावमा मुम्बईले सोमबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्यो ।
पाँच पटकको च्याम्पियन मुम्बई पहिलो दुई खेलमा पराजित रहेको थियो । तर घरेलु मैदानमा पहिलो खेल खेलिरहेको मुम्बईबाट अश्वनीले सानदार ‘डेब्यु’ गरे । पञ्जाबबाट आएका २३ वर्षे देब्रेहाते सिमरले आफ्नो पहिलो बलमै कोलकाताका कप्तान अजिन्का रहानले आउट गरे । आईपीएलको आफ्नो पहिलो खेलको पहिलो बलमै विकेट लिने उनी पहिलो भारतीय बलर हुन् ।
त्यसपछि उनले रिंकु सिंहलाई आउट गरे भने मनीष पाण्डे र एन्ड्रे रसेललाई बोल्ड गरे । आफ्नो पहिलो खेलमै आईपीएलमा ४ विकेट लिने अश्वनी पहिलो भारतीय बलर पनि हुन् । अन्य ५ अवसरमा भने योखाले सफलता सबै विदेशी बलरको नाममा थियो । अश्वनीको प्रयासमा टस हारेपछि ब्याटिङको निम्तो पाएको कोलकाता १६.२ ओभरमा १ सय १६ रनमा अलआउट भयो ।
प्लेयर अफ द म्याच अश्वनीले ३ ओभरमा २४ रन खर्चेर ४ विकेट लिएका हुन् । दीपक चाहारले २ ओभरमा १९ रन खर्चेर २ तथा ट्रेन्ट बोल्ट, कप्तान हार्दिक पाण्ड्या, भिग्नेश पुथुर र मिचेल सान्टनरले १–१ विकेट लिए । कोलकाताबाट अंकृश रघुवंशीले १६ बल खेली ३ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए ।
तल्लो क्रममा रमनदीप सिंहले १२ बल खेली १ चौका र २ छक्कासहित २२ रन बनाए । उनी आउट हुने अन्तिम खेलाडी थिए । पहिलो ओभरमै बोल्टले सुनील नराइनलाई शून्यमा बोल्ड गरेका थिए । क्विन्टन डी कक १, रहाने ११, बैंकटेस ऐर ३, रिंकु १७, पाण्डे १९, रसेल ५ र हर्षित राना ४ रनमा आउट भए ।
वाङखडेमा मुम्बईले १२.५ ओभरमै १ सय २१ रन बनायो । रोहित शर्माले पुनः एक पटक निराश बनाए । उनले १३ बलमा १२ रन मात्र बनाउन सके । विल ज्याक्स पनि १६ रनमा आउट भए । रायन रिकेलटन ६२ र सूर्यकुमार यादव २७ रनमा अविजित रहे । ओपनर रिकेलटनले ४१ बल खेली ४ चौका र ५ छक्का तथा सूर्यकुमारले ९ बल खेली ३ चौका र २ छक्का प्रहार गरे ।
कोलकाताबाट रसेलले दुवै विकेट लिए । उनलाई नै सूर्यकुमारले विजयी छक्का प्रहार गरेका थिए । ३ खेलमा दोस्रो हार बेहोरेको कोलकाता पुछारमा छ ।




