
- गाजा युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिका कारण अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले बनायो कीर्तिमान
काठमाडौँ — आन्तरिक बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार सुन प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
गत शुक्रबार सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रुपैयाँ कारोबार भएको महासंघको भनाइ छ ।
गाजा युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिका कारण सुरक्षित लगानीका रूपमा चिनिएको सुनमा आकर्षित भएपछि मूल्यले अर्को कीर्तिमान बनाएको जानकार बताउँछन् । अहिले सुन आयातमा १० प्रतिशत भन्सार कर लाग्छ । चालु आर्थिक वर्षको बजेट भाषणमा भन्सार दर ५ प्रतिशत बिन्दुले बढाएर २० प्रतिशत बनाइएको थियो ।
भन्सार दर बढेपछि तस्करी मौलाएको भन्दै सरकारले गत मंसिरमा फेरि घटाएर भारतकै सरह बनाएको थियो । भन्सार दर ५० प्रतिशत घटाएसँगै मंसिर १० मा एकै दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ सस्तो भएको थियो । त्यसपछि बैंकले प्रिमियम चार्ज बढाउँदा सुनको मूल्य बढेको थियो ।
महासंघले ‘सुन बिक्रीवितरण कार्यविधि/निर्देशिका २०६८’ अनुसार मूल्य निर्धारण हुने गरेको जनाएको छ । कार्यविधिअनुसार आयातकर्ता (बैंकहरू) ले ०.५ र व्यवसायीले ०.५ प्रतिशत मुनाफा लिन पाउँछन् ।
त्यसपछि मूल्यमा प्रिमियम चार्ज (फ्रेड चार्ज, बिमा) का रूपमा करिब ०.५ प्रतिशत जोडिन्छ । अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरका आधारमा पनि मूल्य निर्धारण गरिन्छ । प्रिमियम चार्जमा ०.५ प्रतिशत दिइन्थ्यो ।
खर्च घटेपछि प्रिमियम चार्ज पनि घटेर ०.३ प्रतिशत पुगेको थियो । तर अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासन आएपछि खर्च फेरि बढेकाले फागुन १३ मा नयाँ सुन आयातमा बैंकले प्रिमियम चार्ज बढाएर ०.१० प्रतिशत पुर्याएका थिए । त्यसयता फेरि सुनको मूल्य बढ्न थालेको हो ।
नेपालमा जस्तै अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाइरहेको छ । गत शुक्रबार प्रतिऔंस ३ हजार ८६.७० डलरमा सुन कारोबार भएको थियो । जुन १८औं कीर्तिमान रहेको रोयटर्समा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको कर वृद्धिले विश्वव्यापी व्यापार युद्ध सुरु हुने डरका बीचमा लगानीकर्ता सुरक्षित सम्पत्तितर्फ आकर्षित हुँदा शुक्रबार सुनको मूल्य कीर्तिमान कायम भएको रोयटर्समा उल्लेख छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ११४.३० सम्म पुग्ने अनुमान गरिएको छ ।




